
हिले । धनकुटाको सहिदभुमी ५ मा ढुङ्गै ढुङ्गाको एक अनौठो स्थान छ । स्थानीयले सो स्थानलाई किवा ढाडा भन्ने गरेका छन् ।
निर्माणाधीन अरुण कोरिडोरबाट करिव तीन सय मिटर माथिबाट सुरु हुने यो स्थानमा अरु पाँचसय मिटर माथिसम्म ढुङ्गै ढुङ्गा छ । यहाँ धेरै र ठुला ठुला ढुङ्गा छन् । अझ अनौठो त यहाँका ढुङ्गा भित्र धेरै ओडार छन् ।
ढुङ्गाकै मनिमुनीबाटै एकातिरबाट छिरेर अर्कोतिर निस्कन सकिने स्थानीय लालजित राई बताउनुहुन्छ । पूर्वाधार तथा प्रचारप्रसारको अभावमा यो स्थान ओझेलमा छ । राईका अनुसार पर्यटनका प्रशस्त सम्भावना हँदाहुँदै पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा यो स्थान ओझेलमा परेको हो ।
राई वान्तवा भाषामा किवा भनेको बाघ र ढाडा भनेको ओढार हो । वाघ बस्ने ओढारको रुपमा चिनिने सो स्थल निक्कै आकर्षक छ । यो स्थानमा रक गार्डेन तथा रक पजल पार्क निर्माण गरे तथा पत्थरै पत्थरको करीब पाँचसय मिटरको उकालो यात्रा एड्भेन्चरमा रमाउनेहरुको लागी आकर्षक गन्तब्य बन्न सक्ने स्थानिय नगेन्द्र राई बताउनुहुन्छ ।
“यो स्थानमा अहिलेको पुस्तालाई बाघको बस्ने घरको रुपमा चिनाउन सकिन्छ अहिलेका पुस्ताले चिडिया घरमा मात्र बाघ देखेको छ तर प्राकृतीक रुपमा बाघ कसरी बस्थे भनेर देखाउन यो स्थान उपयुक्त छ,” राई भन्नु हुन्छ ।
अहिले यो स्थानका अधिकांश ओढार तथा ढुङ्गा झाडिले ढाकेका छन् । सो स्थानसम्म पुग्ने सडक सहज छैन । पूर्वाधार नहुँदा एक ढुङ्गा अर्को ढुङ्गासम्म पुग्न समेत समस्या छ । त्यस्तै यहि स्थानको नजिकै लाबुवा खोङताङ गुफासमेत रहेको छ । करीब २० मिटर लामो यो गुफाको विभिन्न खण्ड रहेका छन्।
त्यस्तै नजिकैको अरुण नदिको मनोरम दृष्य र खोकुटार आदिले जो कोहिको मन लोभ्याउछ । धनकुटाको हिले हुँदै खोकुवाट करीब १८ किलो मिटरको दुरीमा पुग्न सकिन्छ । तर त्यहाँसम्म पुग्ने सहज वाटो नहुदा धेरै कमलाइ मात्र यो स्थानको बारेमा जानकारी छ ।
यो स्थानको सरसफाई र प्रचार प्रसारको लागि काम गरिरहेको सहिदभूमी गाँउपालिका ५ का कार्यवाहक वडाध्यक्ष सफलमान राई बनाउनुहुन्छ । “धनकुटाको हिले हुँदै यहाँ सम्म सामान्य ट्रयाक खुल्ने काम त भएको छ स्तरोन्नती हुन सकेको छैन, त्यसको पहल पनि गरी रहेको छौं, त्यस्तै अरुण कोरिडोर पनि बन्दैछ हामी हाम्रो तर्फवाट सकेको पहल गरीरहेको छौ,” वडाध्यक्ष राईले भन्नुभयो ।