२०८२ भदौ ५, बिहिवार , ०३:४७:१८ बजे

Sajhamanch
'

लिपुलेकसम्बन्धी चीन–भारत सहमतिबारे सत्तापक्ष र विपक्षीको एक स्वर– ‘यो अस्वीकार्य छ’

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । भारत र चीनले लिम्पियाधुरा हुँदै व्यापार गर्ने सहमति गरेकोप्रति सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले भारत–चीन सम्झौताको विरोध गरेका हुन् । उनीहरूले नेपालको तर्फबाट कडा प्रतिवाद गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

बैठकमा विशेष समय लिएर बौल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत र चीनबीच भएको भनिएको सहमति अस्वीकार्य रहेको बताउनुभयो । दुई देशबीच भएको नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ ।

बैठकमा बोल्दै नेकपा (एमाले) मा प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता नेपालका अभिन्न अङ्गमाथि नेपालको स्वीकृतविना सीमा व्यापार गर्ने भारत र चीनबीचको सहमतिको आफूहरू विरोध गर्ने बताउनुभयो ।

यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाललाई जानकारीसमेत नदिई सीमा व्यापार गर्न भएको सहमतिप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपत्ति जनाउनुभयो ।

गएको डिसेम्बरमा भारत र चीनले नेपालको जानकारीविना नै लिपुलेक नाकाबाट कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः शुरू गर्ने समझदारी गरेका थिए । यस्तै अस्ति मङ्गलवार व्यापार सम्झौता गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको नेपाल सरकारको दाबीसमेत भारतले अस्वीकार गरेको छ ।