२०८२ भदौ ५, बिहिवार , ०२:१७:१४ बजे

Sajhamanch
'

पहाडमा पनि डेङ्गीको जोखिम बढ्दै

बिहिवार, भदौ ५, २०८२

बैतडी । पहाडी जिल्लामा पनि डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार अहिलेसम्म सात जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालले दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली र पाटन नगरपालिकामा एकरएक जनामा सङ्क्रमण भेटिएको र ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभयो ।

वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।

तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिनुभयो ।

यस्तै, ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ भन्ने नारासहित डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आजदेखि सङ्खुवासभामा डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लव तथा सङ्घसंस्थाहरू सहभागी भएका थिए ।

उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्दै साथै समुदायलाई डेङ्गीका लक्षण र रोकथामबारे जानकारीसहितका पर्चा वितरण गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले डेङ्गी हिमाली जिल्लासम्म पुग्नु चिन्ताजनक भएको बताउनुभयो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सम्बन्धित खबर