२०८२ भदौ १, आइतवार , १२:३४:४७ बजे

Sajhamanch
'

बाढी पहिरोका कारण १० सडक पूर्ण रूपमा अवरुद्ध, १४३ स्थानमा एकतर्फी सञ्चालन

आइतवार, भदौ १, २०८२

काठमाडौं । बाढी–पहिरोका कारण १० वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । १४३ स्थानमा भने एकतर्फी सडक चालू रहेको सडक विभागले जनाएको छ।

विभागकाअनुसार आइतबार बिहानै नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी–गोरखा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउने कार्य भइरहेको छ ।

रसुवाको रसुवागढी–स्याफ्रुबेसी सडक खण्डमा कुलुङस्थित मितेरी पुल बगाउँदा चीनसँगको आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। भोटेकोसीले कटान गर्दा सो सडक दुई सातादेखि अवरुद्ध छ।

सुनसरी–सङ्खुवासभा जोड्ने कोशी करिडोर पनि वरुण नदीमा बनेको डाइभर्सन बगाउँदा अवरुद्ध भएको विभागले जनाएको छ। यस्तै ताप्लेजुङको फाक्ताङ्लुङ ५ र ६ जोड्ने रानीपुलको बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर रोकिन पुगेको छ।

सिन्धुपाल्चोकको कोदारीमा गएको पहिरोले अरनिको राजमार्ग बन्द भएको छ भने पश्चिम रुकुमको चोखाखोला, रिजगाड, उसुम खोला र छलगाड क्षेत्रमा गएको लेदोमाटोसहितको पहिरोका कारण भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।

त्यस्तै रोल्पाको पुतलाचौर–ग्राम्जिम क्षेत्रमा गएको पहिरोले सहिद राजमार्ग, बागलुङको काली खोलामा आएको पहिरोले रिडी–तानसेन–कोरला सडक र दैलेखको बग्डुल्लामा गएको पहिरोले खुलालु–जुम्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको विभागले जनाएको छ।

अवरुद्ध सडक खोल्ने कार्य भइरहेको र आवश्यक उपकरण परिचालन गरी पहिरो हटाउने प्रयास जारी रहेको विभागले जनाएको छ।