
पाँचथर । पाँचथर फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ ।
सडक विभागका अनुसार अबको ५/६ दिनमा एप्रोच सडक, सडक सुरक्षाका काम सम्पन्न गरी यातायात सञ्चालन गरिने भएको छ । २८ साउनका दिन पुलको भारबहन क्षमता परीक्षण गरिएको समेत विभागले जनाएको छ ।
विभागका अनुसार १७ साउनदेखि हेवाखोलामा मोडुलर पुल जडानको काम थालिएको र ११ दिनको अवधिमा काम सम्पन्न गरिएको समेत विभागले उल्लेख गरेको छ ।
हेवाखोलामा २ असार २०८० मा आएको बाढीले पक्की पुल बगाएको थियो । पुल बगाएपछि ५० मिटर लामो बेलिब्रिज बनाइएको थियो । यो पुल पनि १२ असोज २०८१ को बाढीले बगाएको थियो ।
त्यसपछि सडक विभागले हेवा खोलामा ७० मिटर लामो बेलिब्रिज निर्माण थालेको थियो । सोहीक्रममा ३१ जेठ २०८१ मा निर्माण क्रममै पुल भाँच्चिएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो । ३ जना गम्भीर घाइते भएका थिए । घटनापछि ह्युम पाइप र पेनस्टक पाइप प्रयोग गरी डाइभर्सन तयारी गरिएको थियो ।
सडक विभागका अनुसार यस स्थानमा मोडुलर पुल जडान गर्न भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत भारत सरकार समक्ष आवश्यक सामान उपलब्ध गराउन पहल गरिएको थियो ।
सोही अनुसार भारत सरकारका तर्फबाट पुलका लागि आवश्यक सामान उपलब्ध भएको समेत विभागको भनाइ छ । पुल जडान गर्न भारतले १८ जनाको टोली र लन्चिन सेट पठाएको छ ।
विभागले पुल जडानका बेला ३२ इन्जिनियर, सब–इन्जिनियर, मोकानिक र अपरेटरलाई ‘अन द जब ट्रेनिङ’ समेत दिएको जनाएको छ ।