
विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी महोत्सवलाई भव्य र ऐतिहासिक रूपमा मनाउन सन्दर्भमा आवश्यक तयारी पूरा भएको जनाएको छ ।
सङ्घद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिव भानुभक्त जोशीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारीसहित सनातन धर्म–संस्कृतिको संरक्षणका लागि उल्लेखनीय भक्तजनको उपस्थितिमा महोत्सव मनाउन लागेको बताउनु भयो ।
आयोजकका अनुसार कृष्ण अष्टमीका दिन बिहानै सुरु हुने महोत्सवका अवसरमा दिनभर धार्मिक अनुष्ठानदेखि सांस्कृतिक कार्यक्रमलगायतका गतिविधि हुनेछ ।
यस पटकको कार्यक्रमलाई अझ विशेष बनाउन अन्तर विद्यालयस्तरीय प्रतियोगिता, बालबालिकामुखी प्रस्तुति, कीर्तन, कथा, यज्ञलगायतका आकर्षण समेटिएका छन् ।
बिहान मङ्गल आरतीबाट सुरु भइ सामूहिक जप, दर्शन आरती, गुरु पूजा र श्रीकृष्ण कथा सञ्चालन हुनेछ । बिहान ९ बजे महायज्ञ आयोजना गरिनेछ भने ११ बजेबाट अन्तर विद्यालय चित्रकला प्रतियोगिता सुरु हुनेछ । दिउँसो बालकृष्ण झाँकी प्रदर्शन, नृत्य प्रतियोगिता र ‘मटकी फोड’ प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।
साँझमा आरतीपछि भजन कीर्तन सुरु भइ “मध्यरातमा श्रीकृष्ण जन्मोत्सव र महाअभिषेक गरिने कार्यक्रम छ,” इस्कोनका सचिव जोशीले जानकारी दिनुभयो ।
इस्कोनका वरिष्ठ आध्यात्मिक गुरु तथा भक्तिवेदान्त गुरुकुलका अध्यक्ष, नेपालका विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि, स्थानीय जनप्रतिनिधिसहित २० हजारभन्दा बढी भक्तजनको महोत्सवमा सहभागिता हुने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य नेपाली समाजमा धार्मिक र सांस्कृतिक चेतना फैलाउनु, युवापुस्तामा शान्ति र सद्भावको सन्देश पुर्याउनु तथा कृष्ण भक्तिमार्फत मानवीय मूल्य र नैतिकताको विकास गर्ने रहेको छ ।