
भद्रपुर । अग्रज पत्रकार गोपाल गिरीद्वारा लेखिएको “सदरमुकाम भद्रपुरको गाथा” लोकार्पण गरिएको छ ।
जिल्ला सदरमुकाम भद्रपुरको इतिहास खोजी गर्दै तयार पारिएको अग्रज पत्रकार गिरीको प्रथम कृति “सदरमुकाम भद्रपुरको गाथा”को नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले लोकार्पण गरेका हुन् ।
प्रेस क्लब भद्रपुरको आयोजना तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत गर्दै लेखक गिरीले नेपालकै पुराना शहरहरूको इतिहास बोकेको भद्रपुरलाई सत्य र तथ्यमा चिनाउने प्रयास स्वरूप पुस्तक जन्मिएको बताउनु भयो ।
पुस्तक विमोचन गर्दै गाउँलेले नेपालका शहरहरु आफ्नै पृष्ठभूमिमा रहेकोले पुराना शहरहरुको इतिहास उजागर गर्दै जानुपर्ने औंल्याउनु भयो । मानव बस्ती सुरक्षित राख्न तराइमा औलो नियन्त्रणका कार्यहरू पूर्वमा भद्रपुरबाटै सुरुवात भएको बताउँदै मेची पूल शिलान्यासको इतिहासको विषयका बारेमा आफूले पटक पटक समाचार लेख्नेदेखि तत्कालीन सरकारका प्रधानमन्त्रीहरूसँग अन्तरवार्तासमेत लिएको स्मरण गर्नुभयो ।
वर्तमान प्रविधिले विश्वलाई नजिक ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले गिरीले लेखेको पुस्तक अत्यन्त सान्दर्भिक रहेको गाउँलेको भनाई थियो ।
क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकको समीक्षा नागरिक एफएमका प्रवन्ध निर्देशक एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति चिन्तामणि दाहाल र पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले गर्नुभएको थियो ।
समीक्षक दाहालले पुस्तक भद्रपुर नगरको इतिहासका लागि एउटा महत्वपूर्ण दस्तावेज बनेको बताउनु भयो । उहाँले लेखकीय रूपमा प्रथम कृति भए पनि पुस्तक उत्कृष्ट लेखनका रूपमा रहेको भन्दै गिरीको प्रशंसा गर्नुभयो ।
अर्का समीक्षक सापकोटाले सरल तथा सहज भाषा शैलीमा आएको पुस्तकले भद्रपुरको पहिचानलाई अझ फराकिलो बनाउने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा भद्रपुर नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, प्रेस कउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल लगायतले मन्तव्य राख्दै स्थानीयताको पहिचानलाई राष्ट्रव्यापी बनाउन पुस्तक महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।