
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन् । तर इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारेमा अन्तिम निर्णय भने लिन बाँकी रहेको बीबीसीले जनाएको छ ।
ट्रम्पले इरानको भूमिगत युरेनियम संवर्धन केन्द्र फोर्डोमा अमेरिकी आक्रमणको बारेमा विचार गरिरहेको खबरमा उल्लेख छ । तर इरान आफ्नो आणविक कार्यक्रम अन्त्य गर्न सहमत भएमा ट्रम्पले आफ्नो आक्रमण योजना रोक्न सक्ने बताएका छन् ।
ट्रम्पले हिजो विनाशर्त आत्मसमर्पण गर्न इरानका सर्वोच्च नेतालाई आग्रह गरे पनि इरानी नेताले अस्वीकार गरेका कारण ट्रम्पले आक्रमणमा अमेरिका सहभागी हुने भन्दै धम्क्याइरहेका छन् ।
जुन १३ मा इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेपछि इरानले पनि बदलामा इजरायलमाथि आक्रमण गरिरहेको छ । पछिल्लो समय दुई देशबीचको द्वन्द्व चर्किएको छ ।