२०८२ असार ४, बुधवार , १२:४७:४४ बजे

Sajhamanch
'

जी–सेभेन नेताहरूले भने– ‘इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न सक्दैन’

मङ्गलवार, असार ३, २०८२

झापा । क्यानडाको कानानास्किसमा शिखर सम्मेलनका लागि भेला भएका जी–सेभेन नेताहरूले इजरायल–इरान सङ्कटमा चिन्ता व्यक्त गर्दै मध्यपूर्वमा तनाव कर्म गर्न आह्वान गरेका छन् ।

जी–सेभेन देशहरूले संयुक्त विज्ञप्ति निकालेर गाजामा युद्धविरामसहित मध्यपूर्वमा तनाव कम गर्न आह्वान गरेका बीबीसीले जनाएको छ । तर जी–सेभेन नेताहरूले इजरायल र इरानबीच युद्धविरामका लागि आह्वान गर्न भने अस्वीकार गरेका खबरमा उल्लेख छ ।

जी–सेभेन नेताहरूले यस क्षेत्रमा शान्ति र स्थायित्वप्रतिको आफ्नो प्रतिबद्धता पनि दोहोर्‍याउँदै इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ भनेर उल्लेख गरेका छन् ।

उनीहरूले इरानलाई क्षेत्रीय अस्थिरता र आतङ्कको वास्तविक स्रोत भनेका छन् । इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने उनीहरूले बताएका छन् ।

जी–सेभेन नेताहरूले अन्तर्राष्ट्रिय ऊर्जा बजारको बारेमा सतर्क रहने र बजारको स्थिरता जोगाउन आफ्ना साझेदारहरूसँग मिलेर काम गर्न तयार रहने पनि बताएका छन् ।

यसअघि मध्यपूर्वमा तनावका कारण अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प जी–सेभेन बैठकबाट चाँडै बाहिरिएका थिए। इजरायल र इरानले लगातार पाँचौं दिन एकअर्कामाथि आक्रमण गरिरहेका छन् । यसअघि ट्रम्पले सामाजिक सञ्जालमा इरानको राजधानी तेहरान छाड्न नागरिकलाई आह्वान गरेका थिए।

आर्थिक रूपमा सबल देशहरूको समूह जी–सेभेनमा अमेरिका, बेलायत, क्यानडा, इटली, फ्रान्स, जर्मनी र जापान छन् ।

सम्बन्धित खबर