
झापा । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्यानीडामा चलिरहेको जी–सेभेन बैठक छाडेर स्वदेश फर्किँदै छन् । आर्थिक रूपमा सबल देशहरूको समूह जी–सेभेनको महत्त्वपूर्ण शिखर बैठक छोडेर उन फर्किन लागेका हुन् ।
मध्यपूर्वमा इरान र इजरायलबीच युद्धले चर्किएको तनावका माझ ट्रम्प स्वदेश फर्किन लागेसँगै विकसित घटनाक्रमबारे थप चासो बढेको छ ।
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा इरानको राजधानी तेहरान छाडेर जान नागरिकलाई आह्वान गरेका थिए । अमेरिकाले आफ्ना थप सैन्य त्यस क्षेत्रमा परिचालन गर्न लागेको बीबीसीले जनाएको छ ।
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले मध्यपूर्वमा अमेरिकी रक्षा अवस्थालाई थप सुदृढ पार्न चाहेको बताएका छन् ।
जी–सेभेनमा नेताहरूले विश्व व्यापार अनि युक्रेनविरुद्ध रुसी आक्रमणजस्ता विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी गर्न चाहेका थिए तर उनी पूर्व निर्धारितभन्दा एक दिनअघि नै वाशिङ्टन फर्किने भएपछि शिखर सम्मेलन छायाँमा परेको छ ।
जी–सेभेन समूहमा अमेरिका, बेलायत, क्यानडा, इटली, फ्रान्स, जर्मनी र जापान छन् । साथै भारत, अस्ट्रेलिया र ब्रजिलका नेताहरूलाई पनि आगन्तुकका रूपमा निम्त्याइएको छ ।