
इलाम । खानेपानीमन्त्री प्रदीप यादवले इलामको कन्याम–पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताएका छन् ।
उनले खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य नहुने बताउँदै आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामअन्तर्गत कन्याम(पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया एवं छलफल कार्यक्रममा मन्त्री योजनाको ७७ प्रतिशत काम भएको आफूले जानकारी पाएकाले बाँकी रहेको काम तत्काल सक्न निर्देशन दिएका हुन् ।
मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीका आयोजनाहरुमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने बताए ।
‘कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु । आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नु पर्छ, यात अब ठेक्का रद्द गर्नुपर्छ’, उनले भने ।
यसैगरी उनले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई पनि उन्मुक्ति नदिने बताए ।