२०८२ वैशाख १२, शुक्रवार , ११:२६:३५ बजे

Sajhamanch
'

बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख

शुक्रवार, वैशाख १२, २०८२

विराटनगर । कोशी प्रदेश सरकारको चालु आर्थिक वर्षको चैत मसान्तसम्म समग्र आम्दानी गत वर्षको तुलनामा ६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको तथ्याङ्कअनुसार गत वर्ष यो अवधिसम्ममा चैतसम्मको आम्दानी १८ अर्ब ९३ करोड ८५ लाख थियो । चालु आर्थिक वर्षमा भने सोही अवधिमा आम्दानी २० अर्ब १२ करोड ५ लाख पुगेको छ ।

जसमा प्रदेशलाई संघबाट राजस्व बाँडफाँड र आन्तरिक राजस्वसमेत गरी ११ अर्ब ११ करोड ५ लाख अर्थात् वार्षिक लक्ष्यको ६३ दशमलव ९ प्रतिशत तथा संघ अनुदानको ९ अर्ब १ करोड अर्थात् वार्षिक लक्ष्यको ६२ प्रतिशत निकासा भएको हो ।

प्रदेशलाई संघीय राजस्व बाँडफाँडबाट प्राप्त हुने (भ्याट, अन्तशुल्क र रोयल्टी) रकम ११ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७७ करोड ८ लाख भएको छ ।

यस्तै प्रदेशको आन्तरिक राजस्व गत वर्षभन्दा २४ दशमलव ५ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ३३ करोड ९७ लाख पुगेको छ । आन्तरिक राजस्वतर्फ सवारी साधन कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, अनुमति पत्र, यातायात क्षेत्रको आम्दानी, स्थानीय तहबाट प्राप्त राजस्व, अनुदान/निकासा फिर्ता, बेरुजु, अन्य शुल्क, दस्तुर, जरिमाना तथा व्यवसाय रजिस्ट्रेसन दस्तुर असुलीमा वृद्धि भएको हो ।

यस्तै वित्तीय समानीकरण अनुदान २९ दशमलव ९ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड ६८ लाख तथा विशेष अनुदान १३।७ प्रतिशत वृद्धि हुँदै ४ अर्ब ५७ करोड ८ लाख आम्दानी भएको छ ।

प्रदेशले पाउने समपूरक अनुदान भने १० दशमलव ३ प्रतिशतले घटेर ४ अर्ब ३२ करोड ३ लाख र सशर्त अनुदान ४९ दशमलव ३ प्रतिशतले घटेर १ अर्ब ७६ करोड ३१ लाख आम्दानी भएको छ ।

कोशी प्रदेशले समग्र आम्दानी गर्ने वार्षिक लक्ष्य भने ३१ अर्ब ९२ करोड ३४ लाख रहेको छ । नगद मौज्दात ३ अर्ब २५ करोड र वैदेशिक अनुदानको सोझै भुक्तानी १० करोड ५९ लाख गरी चालु आर्थिक वर्षको कुल बजेट भने ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको रहेको छ ।

ssss 2

प्रदेशको हालसम्मको खर्च पनि गत वर्षको तुलनामा ६ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

हालसम्म प्रदेशले ४१ दशमलव १ प्रतिशत अर्थात् १४ अर्ब ४९ करोड ३० लाख रुपैयाँ जम्मा खर्च गरेको छ । जसमा चालु तर्फ ४५ दशमलव ७ प्रतिशत अर्थात् ६ अर्ब ९ करोड २२ लाख, पूँजीगततर्फ ३२ दशमलव ५ प्रतिशत अर्थात् ५ अर्ब ६० करोड ९४ लाख र स्थानीय तह अनुदानतर्फ ६० दशमलव २ प्रतिशत अर्थात् २ अर्ब ७९ करोड १४ लाख रहेको छ ।

गत वर्ष यही अवधिमा जम्मा खर्चको प्रतिशत ३७ दशमलव १ प्रतिशत मात्रै थियो । प्रदेशको सञ्चीत खातामा ५ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

ssss

सम्बन्धित खबर