२०८३ वैशाख ४ शुक्रवार , ०५:३८:२९ बजे

Sajhamanch
'

भर्ना र पठनपाठन थाल्न पालिकालाई नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घको सर्कुलर

शुक्रवार, वैशाख ४, २०८३

काठमाडौं । नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घले आफू अनुकूल विद्यार्थी भर्ना तथा पठनपाठनलगायतका शैक्षिक गतिविधि अघि बढाउन पालिकालाई सर्कुलर गरेका छन् ।

नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गरिएको सर्कुलरमा संविधानअनुसार विद्यालय शिक्षाको अधिकार पालिकाको भएकाले त्यसैअनुसार शैक्षिक क्रियाकलाप अघि बढाउन सुझाव दिइएको छ ।

नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले पालिकालाई संयुक्त रूपमा सर्कुलर गर्नुभएको छ ।

केन्द्र सरकारले यही वैशाख १५ गतेदेखि शैक्षिक सत्र शुरू हुने, १५ देखि २१ गतेसम्म विद्यार्थी भर्ना लिने र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने र आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर यो निर्णयमा असहमति जनाउँदै कतिपय पालिकाले यसअघि नै भर्ना र पठनपाठन गर्ने निर्णय गरेका छन् ।

यसैबीच निजी विद्यालय सञ्चालकहरूका चार वटा छाता सङ्गठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा ‘वैशाखको शुल्क तिर्नु पर्दैन’ वा ‘निःशुल्क हुन्छ’ भनी सार्वजनिक भइरहेका विषयहरू भ्रामक र निराधार रहेको भन्दै निजी विद्यालय सञ्चालकहरूले विज्ञप्तिमार्फत वैशाख महिनाको पनि शुल्क लाग्ने बताएका हुन् ।

प्याब्सन, एन–प्याब्सन, हिसान र एपेनले निकालेको संयुक्त विज्ञप्तिमा तथ्यहीन सूचनाको भ्रममा नपर्न अभिभावक तथा सरोकारवालालाई आग्रह गरिएको छ ।

 

सम्बन्धित खबर