
काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ। काँकडभिट्टा नाका हुँदै झापा पुर्याइएका उनलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो। प्रहरीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयबाट उनलाई केहीबेर अघि मात्रै अदालत लगिएको छ ।प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको छ । उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।
राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी आज बिहान झापा ल्याइएको थियो ।
भद्रपुर विमानस्थल ल्याउनुअघि प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थियो। प्रहरीले दुवैजना विरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्ने जनाएको छ।
तीनकुनेमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित १३० भन्दा बढी घाइते भएका थिए।
आन्दोलनकारीलाई उक्साएर विध्वंशकारी घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधको कसुरमा मुद्दा चलाइएको छ।