२०८२ वैशाख ६, शनिवार , ०४:१०:५७ बजे

Sajhamanch
'

एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ

बिहिवार, चैत २८, २०८१

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम्तीका स्थानीय वासिन्दाले सडक बनेको आफ्नो नम्बरी जग्गाको मुआब्जा मागेको वर्षौं भयो । तर, उनीहरूले अझै मुआब्जा पाएका छैनन् ।

पूर्व–पश्चिम एसियन राजमार्गअन्तर्गत यो सडक खण्डको वयरवन–९ (थ) को ६४ नम्बर कित्तामा बाटो बनिरहेको छ । १९७० सालमा नापी भएर जग्गा कित्ताकाट भयो । त्यसको ५३ वर्षपछि सडकको लागि जग्गा छुट्याइयो ।

आफ्नो नम्बरी जग्गामा मुख्य राजमार्ग बनेपछि उनीहरूले मुआब्जा माग्दै धेरै वर्षदेखि संघर्ष गर्दै आएका छन् । अहिले काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीले सडक विस्तार गर्ने योजना बनायो । त्यही कारण त्यहाँका ४१ घरपरिवारको बिचल्ली हुने भएको छ । सडक बनाउने वेला नापी गर्दा ए सय फुट चौडाको सडक बनाउने भनिए पनि सडकले अहिले १६५ फुट क्षेत्रफल ओगटेको छ ।

उक्त समस्या समाधानका लागि गठन गरिएको समन्वय समितिका संयोजक मदन पोखरेल सडक विस्तार भए पनि आफूहरूको बिल्लीबाठ भएको बताउँछन् । ‘अहिले सडक विस्तार गर्ने भनिएको छ, त्यसो हुँदा हाम्रा सबै घर भत्किन्छन् र हाम्रो बिल्लीबाठ हुन्छ,’ पोखरेलले भने, ‘हामीले पटक–पटक आन्दोलन गरेपछि अहिले तत्काल सडक विस्तार कार्य रोकिएको छ, तर कुन दिन घर भत्किने हो टुंगो छैन ।’

पोखरेलले सडकले कि आफ्नो ठाउँमा सडक सार्नुपर्ने कि अहिले आफूहरू बसेको ठाउँको जग्गा आफ्नो नाममा पास गरिदिनुपर्ने बताए । अहिले उनीहरू बसोबास गर्दै आएको जग्गा सडकको नाममा छ । र उनीहरूसँग भएको नम्बरी जग्गाको धनीपुर्जा भए पनि त्यो जग्गामा सडक छ । पोखरेलले आफ्नो नाममा जग्गा नभएकोले बैंकमा जग्गा राख्न पनि समस्या भएको बताए । ‘बैंकमा जग्गा राखेर केही काम गरौँभन्दा पनि पाइएको छैन, हामी बसेको जग्गा सडकको नाममा छ, हाम्रो जग्गामा सडक छ’, उनले भने, ‘यो समस्या पुरानो हो त्यतिवेलादेखि नै संघर्ष गर्दै आएका हौँ तर पनि हाम्रो कुरा सुनुवाइ हुन सकेन ।’उनले आफ्नो जग्गामा सडक भए पनि त्यो जग्गाको कर तिरिरहेको बताए । समस्या बढ्दै गएपछि धेरै पटक छलफल भएको पोखरेलले बताए ।

केहीअघि भएको सार्वजनिक सुनुवाइमा पनि यो समस्या समाधान गर्ने सहमति भएको थियो, तर कार्यान्वयन नभएको उनको गुनासो छ ।

पीडितहरूले सडक रहेको आफ्नो जग्गाको सट्टा अहिले आफूहरू बसेको ठाउँमा नै जग्गा सट्टापट्टा गरिदिन पनि सम्बन्धित निकायलाई आग्रह गर्दै आएका छन् ।

उक्त आयोजना प्रमुख जगत प्रजापतिले समस्या समाधानका लागि धेरै पटक छलफल भएको बताएका छन् । ‘धेरै अघिबाट यसबारे वर्कआउट भएको छ, दक्षिणतिर सडक विस्तार गर्दा अलिक सजिलो हुन्छ कि भन्ने लाग्छ,’ उनले भने, ‘दक्षिणतिर सडकको जग्गा भएकाले पनि त्यो विकल्प सहज हुन्छ भन्ने लाग्छ ।’

प्रजापतिले स्थानीयको माग सम्बोधनका लागि विभिन्न ढंगले छलफल भइरहेको बताए । सडकको जग्गा एकातिर र सडक अर्कैतिर रहेको हुँदा समस्या भएको बताए । उनले १० मिटर चौडा बाटोलाई बढाएर २४ मिटर चौडाको बनाउने योजना अघि बढेको जनाएका छन् । ‘सडक विस्तार हुँदा पुरानो समस्या समाधान गरेर जाउँ भन्ने उहाँहरूको माग पनि जायज नै हो,’ प्रजापतिले भने ।

पथरीशनिश्चरे नगरपालिकाका प्रवक्ता नवीन कार्कीले समस्या समाधान कसरी गर्न सकिन्छ भनेर पटक–पटक छलफल भएको बताए ।

‘सडक, निर्माण व्यवसायी र पब्लिकसँग यसबारे विभिन्न चरणमा छलफल भएको छ, क्षति नहुने गरी अघि बढ्नुपर्छ,’ उनले भने ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि यस विषयमा छलफल भइरहेको बताए । ‘छलफल भइरहेको छ, समस्याको समाधान हुन्छ,’ उनले भने ।

सम्बन्धित खबर