२०८१ चैत ५, मङ्गलवार , १०:२७:०५ बजे

Sajhamanch
'

इजरायली सेनाबाट गाजा पट्टीमा ठूलो आक्रमण : ३४ जनाको ज्यान गयो

मङ्गलवार, चैत ५, २०८१

झापा । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरिरहेको छ । इजरायल रक्षा बल (आईडीएफ) ले आक्रमण हमाससँगसम्बन्धित आतङ्कवादीलाई लक्षित गरिरहेको बताएको छ ।

गाजाको हमासद्वारा सञ्चालित आपतकालीन प्रतिक्रिया सेवाका अनुसार आक्रमणबाट कम्तीमा ३४ जना प्यालेस्टिनीहरू मारिएका छन् र ७० जना घाइते भएका छन् ।

मध्य गाजाको देइर अल–बलाहमा तीन घर, गाजा शहरको एक भवन र खान युनिस र रफाहमा लक्षित आक्रमण भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

गएको जनवरी १९ तारिखमा युद्धविराम शुरू भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो लहर हो । गाजा युद्धविरामको थप विस्तार गर्ने वार्ता सम्झौतामा पुग्न असफल भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री काट्जले पछिल्लो पटक आक्रमणको आदेश दिएको प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिमा उल्लेख छ । आफ्ना बन्धकलाई रिहा गर्न हमास समूहले बारम्बार अस्वीकार गरेको इजरायलको आरोप छ ।

मार्च १ तारिखमा अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएपछि वार्ताकारहरूले अगाडि बढ्ने बाटो खोज्ने प्रयास गरिरहेका बीबीसीले जनाएको छ ।

अमेरिकाले पहिलो चरणलाई अप्रिलको मध्यसम्म लम्ब्याउने प्रस्ताव गरेको थियो, जसमा हमासले बन्धक र इजरायलले प्यालेस्टिनी कैदीको थप आदानप्रदान गर्ने विषयलाई समावेश गरिएको छ । तर वार्ताको प्रकृया अघि बढ्न सकिरहेको छैन ।

सम्बन्धित खबर