
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकतालाई स्वीकार नगरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथिको छलफलमा सांसदहरूले राखेको सुझावका विषयमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको उनको भनाइ थियो ।
‘भावनामा नडुबिकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकारेको छैन नेपाल राज्यले । त्यसकारण हामीले के नबुझौ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको ? यो कुरा तपाई हामी यहाँ बसेका सबै माननीयज्यूहरु हुनुहुन्छ, उहाँहरूले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेको जस्तो जनरल होइन,’ उनले भने ।
नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपाली मुलका व्यक्तिलाई मात्रै गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उनले बताए ।
‘त्यसकारणले गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मुलको विदेशी नागरिक छ र त्यहीँ बसेको छ, जस्ले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ,’ उनले भने ।
सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपाली मुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताए ।