
विराटनगर । आन्तरिक विवादका कारण प्रदेशका दर्जन बढी क्याम्पसहरूमा स्ववीयू निर्वाचन अनिश्चित भएको छ । प्रदेशकै सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादका कारण स्ववीयू निर्वाचन अनिश्चित भएको छ ।
महेन्द्र मोरङमा नेपाल विद्यार्थी संघ कोइराला समूह र देउवा समूहकाबीचमा विवाद छ । सोही विवादका कारण निर्वाचन हुनेरनहुने अझै टुङ्गो लागेको छैन । सो क्याम्पसमा केही दिनयता विद्यार्थी संघका दुई समूहकाबीचमा झडपसमेत हुँदै आएको छ ।
महेन्द्र मोरङमा नेविसंघबाट दुईवटा प्यानलको उम्मेदवारी परेको थियो । नेवि संघ का प्रज्वल विष्टले दिएको उम्मेदवारीलाई निर्वाचन समितिले आधिकारिक मानेपछि विवाद बढेको हो । उनी देउवा समूहका हुन् ।
यस्तै योगराज दाहालको नेतृत्वमा अर्को प्यानल दर्ता भएको थियो । सो समूहको उम्मेद्वारीलााई निर्वाचन समितिले स्वतन्त्र उम्मेदवारको हैसियत प्रदान गरेपछि विवाद बढेको छ ।
विवादपछि दाहालसहितका नेताहरूले स्ववियू निर्वाचन समितिको कार्यालयमा आगो लगाएर निर्वाचन अधिकृत डा। सुशील कुमार अधिकारीलाई कोठामै थुनेका थिए । अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरे । त्यसको केही समयपछि प्रहरीले ताला फोडेर अधिकारीको उद्धार गरेको थियो ।
नेपाल विद्यार्थी संघको कोइराला समूहले महेन्द्र मोरङ क्याम्पसमा स्ववियू निर्वाचन निष्पक्ष हुने वातावरण नभएसम्म निर्वाचन हुन नसक्ने बताउँदै आएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य योगराज दाहालले सहमतिबिना निर्वाचन गरिए जे पनि हुने धम्की दिँदै आएका छन् । उनले भने, ‘यदि गरिए कोही कसैको आत्मदाह हुनसक्छ । कोही मर्न सक्छ, कोही मार्नसक्छ । यो चेतावनी दिन चाहन्छु ।’
महेन्द्र मोरङ स्ववीयु निर्वाचनका निर्वाचन अधिकृत डा। सुशील अधिकारीले भने निर्वाचन हुने बताएका छन् । उनले तयारी भइरहेको बताए । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका छन् । महेन्द्र मोरङ क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् ।
यसैगरी सुनसरीको जनता क्याम्पसमा समेत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने नहुने टुङ्गो लागेको छैन । सो क्याम्पसमा विद्यार्थी भर्नाका विषयमा विवाद रहेको छ । एमाले निकाट अनेरास्ववीयुले २०६ विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै विरोध जनाउँदै आएको छ ।
यसैगरी खोटाङका कुनै पनि क्याम्पसमा निर्वाचन नहुने भएको छ । खोटङ्गमा सात वटा क्याम्पस रहेका छन् । विद्यार्थी भर्नाको विवादका कारण खोटाङमा स्ववीयु निर्वाचन अनिश्चित भएको छ ।
अनेरास्ववीयु खोटाङका अध्यक्ष विष्णु उपरकोटीले विद्यार्थी भर्नाको विवादका कारण खोटाङका कुनै पनि क्याम्पसमा निर्वाचन हुने सम्भावना कम रहेको बताए ।
यसै गरी उदयपुरको त्रियुगा बहुमुखी क्याम्पस र बरुवा क्याम्पसमा पनि स्ववीयु निर्वाचन अनिश्चित बनेको छ । ती क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ ।