
मुम्बई । बलिउड अभिनेता आमिर खान शुक्रबार ६० औं जन्मदिन मनाउँदैछन् । जन्मदिन पूर्वसन्ध्यामा आयोजित बर्थडे पार्टीमा नयाँ प्रेम सम्बन्धको खुलासा गरेपछि उनी चर्चाले घेरिएका छन् ।
गौरी स्प्राट नामकी एक महिलालाई प्रेमिकाको रुपमा चिनाउँदै आमिरले प्रशंसक र बलिउड जगतलाई चकित तुल्याए । मुम्बईको एक होटलमा आयोजित प्रि-बर्थडे सेरेमोनीमा मिडियासामु उनले प्रेमिका चिनाए । गौरीबारे मिडियासँग प्रश्नोत्तर गरे ।१८ महिनादेखि गौरीसँग डेटिङ गरिरहेको पनि आमिरले बताए । प्रेमिकाको रुपमा गौरीलाई आमिरले चिनाएपछि यी रहस्यमयी महिलाबारे चासो पनि बढेको छ ।
को हुन् गौरी स्प्राट ?
बैंग्लोरमा सैलुन व्यवसाय चलाउने रीता स्प्राटकी छोरी हुन् गौरी । जीवनकालको धेरै समय उनी बैंग्लोरमा बसिन् । सामाजिक संजाल लिंक्डइनका अनुसार गौरीले ब्लु माउण्टेन स्कुलमा पढेकी हुन् । सन् २००४ मा लण्डनको युनिभर्सिटी अफ आर्ट्समा फेसन डिजाइन, एफडीए स्टाइलिङ र फोटोग्राफी कोर्स अध्ययन गरिन् । अहिले उनी मुम्बईमा बीब्लन्ट नामक सैलुन संचालन गर्छिन् ।
मिडिया कुराकानीमा विहिबार गौरीले आफूले आमिर खानको प्रोडक्सन कम्पनीसँग मिलेर काम गरिरहेको बताएकी छन् । गौरीका एक ६ वर्षिय सन्तान छन् ।