
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक दलहरू केन्द्रीय मानसिकताबाट हुर्किएकाले संघीयताको उच्चतम् अभ्यास स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । प्रशासनिक र सुरक्षा निकाय पनि एकात्मक राज्य प्रणालीको अभ्यासबाटै आएकाले संघीयता स्वीकार गर्न हिच्किचाइरहेको उनले बताए ।
कान्तिपुर टेलिभिजनको ‘मुख्यमन्त्रीसँग कान्तिपुर’ कार्यक्रममा सहभागी मुख्यमन्त्री कार्कीले बहुदलीय व्यवस्थाको प्रारम्भदेखि नै स्थापित राजनीतिक दलहरूमा केन्द्रीकृत मानसिकता हावी रहेको बताए ।
यही कारण केन्द्रको राजनीतिमा केही परिवर्तन हुँदा प्रदेशमा हलचल हुने गरेको उनको भनाइ थियो । ‘केन्द्रमा पानी पर्दा प्रदेशमा बाछिटा आइहाल्ने, प्रदेशमा छाता ओढ्नैपर्ने स्थिति छ’ मुख्यमन्त्री कार्कीले भने ।
प्रदेशसभामा एउटै दलले स्पष्ट बहुमत नल्याउँदा प्रदेश सरकार अस्थिर बनेको मुख्यमन्त्री कार्कीले बताए । ‘सरकार अस्थिर भएका कारण प्रदेशको विकास निर्माणले गति लिन सकेको छैन, राजनीतिक स्वायित्व र सेवा प्रवाहलाई प्रभावकारी बनाउन दुई ठूला दल मिलेर सरकार गठन गरिएको हो’ उनले भनेका छन् ।
कान्तिपुरबाट