२०८१ फागुन २०, मङ्गलवार , ०४:११:५२ बजे

Sajhamanch
'

इन्डोनेसियाले यस वर्ष ४० अर्ब डलर बराबरको २१ वटा ऊर्जा परियोजना बनाउने

मङ्गलवार, फागुन २०, २०८१

झापा । इन्डोनेसियाले यस वर्ष झन्डै ४० अर्ब अमेरिकी डलरको ऊर्जा परियोजनाको योजना बनाएको छ ।

इन्डोनेसियाले सन् २०२५ मा ४० अर्ब डलर बराबरको २१ वटा ऊर्जा परियोजना बनाउने योजना बनाएको ऊर्जामन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यसले घरेलु प्रशोधन क्षमता बढाउने ऊर्जामन्त्रीले बताएका छन् ।

कोइलामा निर्भर इन्डोनेसिया दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्रमध्ये एक हो । राष्ट्रपति प्रबोवो सुब्यान्टोले गएको वर्ष कोइला ऊर्जा उत्पादनलाई चरणबद्ध गर्न र शताब्दीको मध्यसम्ममा शून्य उत्सर्जनमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

ऊर्जामन्त्री बहलील लहदालियाले यी परियोजनाहरू इन्डोनेसियाको अर्थतन्त्र बढाउन र तेलदेखि घरेलु क्षमतामा सुधार गरेर रोजगारी सिर्जना गर्ने ठूलो प्रयासको हिस्सा भएको बताएका छन् । झन्डै पाँच लाख ब्यारेल क्षमताको तेल प्रशोधन केन्द्र र तेल भण्डारण सुविधा पनि निर्माण गरिने उनले बताए।

यसैबीच सरकारले दानन्ताराको प्रारम्भिक बजेट २० अर्ब डलर हुने बताएको थियो । दानन्तारा इन्डोनेसियाको सार्वभौम सम्पत्ति कोष हो, यो कोष सन् २०२५ मा राज्यको स्वामित्वमा रहेको सम्पत्ति व्यवस्थापन गर्न शुरू गरिएको थियो ।

राष्ट्रपति प्राबोवोले दानान्तारा र अन्य परियोजनाहरूको कोषमा कटौती गरेपछि गएको महिना इन्डोनेसियाका धेरै शहरहरूमा विद्यार्थीहरूको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।