
विराटनगर । मोरङको बेलबारीमा कोशी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ आयोजना हुने भएको छ।
नेपाल ललितकला प्र ज्ञा प्रतिष्ठानको आयोजनामा बेलबारी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेर यही फागुन १६ गतेदेखि २० गतेसम्म प्रदर्शनी हुने भएको हो ।
प्रदर्शनीमा प्रदेशका १४ जिल्लाका १८६ जना कलाकारहरूका २२१ वटा कलाकृतिहरू प्रदर्शनीमा राखिने जनाइएको छ ।
समसामयिक मूर्तिकला १८ वटा, समसामयिक चित्रकला १२० वटा, परम्परागत चित्रकला ५ वटा, हस्तकला (हेन्डिक्राफ्ट) ३५ वटा, फोटोग्राफी कला १६ र लोककला २८ वटा प्रदर्शनी रहने तयारी भएको आयोजकले पत्रकार सम्मेलन गरी जनाएको हो ।
कार्यक्रममा कोशी प्रदेशमा बसोबास गरेका लामो समयदेखि निरन्तर कला सिर्जनामा लागिरहेका ४ जना वरिष्ठ कलाकारहरूलाई सम्मान अर्पण गरिने जनाइएको छ।
प्रदर्शित कलाकृतिहरू मध्येबाट एकजनालाई ५० हजार रुपैयाँ राशिको उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार र अन्य विभिन्न विधामा २५ हजार रुपैयाँ राशिको विधागत पुरस्कारले पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रदर्शनीको पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारहरू सहितको कला कार्यशाला, तेस्रो दिन समसामयिक कला, लोककला तथा स्थानीय कला सम्बन्धी अन्तरक्रिया, चौथो दिन सांगीतिक र सांस्कृतिक कार्यक्रम तथा पाँचौं दिन समापन समारोह हुने प्राज्ञ सञ्जय वान्तवताद्वारा हस्ताक्षर गरी जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रदर्शनी कार्यक्रमको अवधिभर १५ हजारभन्दा बढी अवलोकनकर्ताहरूलाई अवलोकन गराउने लक्ष्य राखिएको आयोजकको भनाई छ।
कार्यक्रम कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र इटहरी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको हो।