२०८१ माघ २९, मङ्गलवार , ०४:०६:३४ बजे

Sajhamanch
'

अमेरिकाको नेभाडाका एक जनामा बर्ड फ्लु देखियो

मङ्गलवार, माघ २९, २०८१

झापा । संयुक्त राज्य अमेरिकामा गाई फार्ममा काम गर्ने मानिसमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । नेभाडा राज्यको एक गाई फार्ममा काम गर्ने एक जना मानिसमा बर्ड फ्लु देखिएको र यो नेभाडामा पहिलो घटना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सङ्क्रमित व्यक्तिमा एच–५ एन–१ भाइरस देखिएको छ । चर्चिल काउन्टीको एउटा फार्ममा काम गर्दा सङ्क्रमित गाईको सम्पर्कमा आएपछि व्यक्तिमा बर्ड फ्लु सरेको अनुमान छ ।

त्यही फार्ममा काम गर्ने अरूमा भने सङ्क्रमण देखिएको छैन । नेभाडाका गाईहरूमा बर्ड फ्लु भाइरसको दोस्रो प्रजाति पत्ता लागेको केही दिनपछि मानिसमा सङ्क्रमण देखिएको हो ।

बर्ड फ्लु पहिले जङ्गली चरा र कुखुरामा मात्र पाइएकोमा अमेरिकामा गाई हुँदै मानिसमा सरिरहेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले एच–५ एन–१ एभियन इन्फ्लुएन्जाको स्वास्थ्य जोखिम भने कम रहेको बताएको छ । यो भाइरस व्यक्तिबाट व्यक्तिमा फैलिएको पनि कुनै प्रमाण छैन ।

सीडीसीका अनुसार सन् २०२४ देखि संयुक्त राज्य अमेरिकामा एच–५ एन–१ बर्ड फ्लु सङ्क्रमणबाट ६८ जना बिरामी परेकामा एक जनाको ज्यान गएको छ ।

सम्बन्धित खबर