![](https://sajhamanch.com/wp-content/uploads/2025/02/2025-01-27T115146Z_2009462870_RC2V80A0IJ92_RTRMADP_3_RESERVE-BANK-OF-INDIA-AVIOM-1738910162.webp)
झापा । भारतको केन्द्रीय बैंकले झन्डै पाँच वर्षमा पहिलो पटक ब्याजदर घटाएको छ । एशियाको तेस्रो ठूलो अर्थतन्त्रको सुस्त आर्थिक वृद्धिलाई रोक्न ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले ब्याजदर घटाएको बीबीसीले जनाएको छ ।
धेरै अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप आरबीआईले आफ्नो रेपो दर ६.५ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशत कायम गरेको छ । रेपो दर भनेको केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई कर्जा दिने स्तर हो ।
भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर चार वर्षको न्यून ६.७ प्रतिशतमा पुगेपछि ब्याजदर घटेको हो । आरबीआई गभर्नर सञ्जय मल्होत्राले बैंकले आफ्नो नीतिगत अडान तटस्थ राखेको बताएका छन् । यसले थप दर कटौतीको सङ्केत गर्दै वृद्धिलाई समर्थन गर्न थप ठाउँ खोल्ने खबरमा उल्लेख छ ।
यस्तै आरबीआई गभर्नरले डिजिटल ठगीको घटना बढ्नु चिन्ताको विषय भएको बताउँदै आरबीआईले डिजिटल सुरक्षा बढाउन काम गरिरहेको उल्लेख गर्नुभयो ।
भारतीय रिजर्व बैंकले आर्थिक वर्ष २०२५ मा मुद्रास्फीति ४.८ प्रतिशत रहने अनुमान गरेको छ । पछिल्ला महिनाहरूमा शेयर बजारबाट विदेशी लगानीकर्ता भारी बहावका कारण भारतीय रुपैयाँ रेकर्ड न्यून विन्दुमा कारोबार भइरहेको छ । भारतमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाको नाफा पनि घटेको छ ।