झापा । पछिल्ला वर्षहरूमा चुरोट बिँडी नखाने मानिसहरूमा पनि फोक्सोको क्यान्सर बढ्दै गएको पाइएको छ । ‘ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नल’ मा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार चुरोट बिँडी नखाने महिला र विशेषगरी दक्षिण–पूर्वी एशियाका मानिसहरूमा फोक्सोको क्यान्सर धेरै देखिएको छ ।
यसअघि विशेषगरी चुरोट बिँडी खानेहरूमा फोक्सोको क्यान्सर देखिने गरेकोमा अहिले बढ्दो वायु प्रदूषणका कारण नखाने मानिसहरूमा पनि देखिएको अध्ययनको निष्कर्ष छ । कहिल्यै पनि चुरोट बिँडी नखाएका मानिसमा पनि फोक्सोको क्यान्सर देखिनुमा वायु प्रदूषण नै मुख्य कारण भएको अध्ययनको निष्कर्षमा उल्लेख छ ।
फोक्सोको क्यान्सर संसारमा धेरै हुने क्यान्सरमध्ये एक हो । सन् २०२२ मा फोक्सोको क्यान्सरबाट संसारमा २५ लाख जना मानिसले ज्यान गुमाएका थिए । अनुसन्धानकर्ताहरूले वायु प्रदूषणसँग सम्बन्धित ‘एडेनोकार्सिनोमा’ को सबैभन्दा उच्च स्तर पूर्वी एशिया, विशेषगरी चीनमा पत्ता लागेको बताएका छन् ।