झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लाखौं सङ्घीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । राष्ट्रपति ट्रम्पको प्रशासनले कार्यालयमा फर्कन नचाहने लगभग सबै सङ्घीय कर्मचारीहरूलाई बहिर्गमन प्याकेजको प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार अर्बपति व्यापारी एलन मस्कले सामाजिक सञ्जाल ‘एक्स’ ऐतिहासिक ‘विकल्प’ का रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख जना सङ्घीय कर्मचारीलाई पठाइएको छ । यही जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता सङ्घीय खर्चविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हो ।
प्रशासनका एक वरिष्ठ अधिकारीले एनबीसी न्यूजलाई बताएअनुसार यो प्याकेजबाट ५ देखि १० प्रतिशत सङ्घीय कर्मचारीले राजीनामा दिने अपेक्षा छ । यसबाट झन्डै एक खर्ब अमेरिकी डलर बचत हुने विश्वास छ ।
ट्रम्पले प्रशासनले कर्मचारीको इमेलमा राजीनामाका लागि पठाएको प्रस्ताव आउँदो फेब्रुअरी ६ तारिखसम्म लागू हुनेछ । ट्रम्पले कोभिड–१९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधापछि सबै सङ्घीय कर्मचारीलाई पूर्णकालिक रूपमा कार्यालयमा फर्कन आदेश दिएसँगै ट्रम्पले यो कदम चालेका हुन ।