झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले ‘बन्धकहरूलाई रिहा गर्ने सम्झौता’ मा सहमति भएको जनाएको छ ।
हमासले अन्तिम समयमा सम्झौतामा परिवर्तनहरू गर्न खोजेको आरोप लगाउँदै इजरायली प्रधानमन्त्री नेतान्याहुले हिजो मन्त्रिपरिषद्बाट गाजा युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने प्रक्रियामा ढिलाइ गरेका थिए।
नेतान्याहुको कार्यालयद्वारा वार्ताका लागि गठित टोलीले आज बिहान प्रधानमन्त्रीलाई युद्धविराम सम्झौतामा सहमति भएको जानकारी दिएको खबरमा उल्लेख छ ।
नेतान्याहुको कार्यालयले मन्त्रिपरिषद् बैठक बोलाउन आदेश पनि दिएको बताएको छ । यसपछि सम्झौता स्वीकृत हुनेछ । यसबारे बन्धकका परिवारलाई जानकारी गराइएको छ ।
इजरायली मिडिया रिपोर्ट्का अनुसार इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन् । अस्ति बुधवार अमेरिका र कतारले युद्धविराम सम्झौताको बारेमा पहिलो जानकारी दिएका थिए ।
महिनौंदेखिको वार्ता तथा छलफलपछि इजरायली वार्ताकारहरू युद्धविरामको सम्झौतामा सहमत भएका हुन् । पर्सि आइतवारदेखि युद्धविराम सम्झौता पूर्णरूपमा लागू हुने बताइएको छ ।
यसैबीच हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अस्ति युद्धविराम सम्झौता घोषणा भएयता गाजामा इजरायलले गरेको आक्रमणमा परेर ८० जनाभन्दा धेरैको ज्यान गएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा १ हजार २०० जना मारिएपछि इजरायलले गाजामा जवाफी आक्रमण शुरू गरेको थियो ।
त्यस क्रममा हमासले २५१ जनालाई बन्धक बनाएको थियो । त्यही समूहमा नेपालका विपिन जोशी पनि रहेका ठानिएको छ तर उनको अवस्थाबारे अहिलेसम्म थाहा भएको छैन ।
इजरायलको आक्रमणमा परेर गाजामा ४६ हजार ७ सय जनाभन्दा धेरैको ज्यान गइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।