२०८१ पौष २६, शुक्रवार , १०:३०:४९ बजे

Sajhamanch
'

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

शुक्रवार, पौष २६, २०८१

झापा । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका बाबजुद पाँच नयाँ सङ्क्रमित फेला परेका चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले एमपक्स स्ट्रेन क्लेड १ बी को समूहगत प्रकोप फेला परेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

कङ्गोबाट आएका मानिसको सम्पर्कमा रहेका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । यसबाहेक अहिलेसम्म अरु सम्पर्कहरूमा कुनै केस फेला नपरेको त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।

एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ । तर यो नजिकै रहेका व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो आउने, मांसपेशी दुख्ने, छालामा ठूला फोका जस्ता घाउ आउने र यो घातक हुनसक्ने डाक्टरहरु बताउँछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गएको अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र कङ्गोमा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो ।

कङ्गोमा यसले एक हजारभन्दा धेरै मानिसको ज्यान लिएको छ । डब्लूएचओको अगस्टको घोषणापछि चीनले छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो ।

डब्लूएचओका अनुसार सन् २०२२ देखि १२० भन्दा धेरै देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन् ।

सम्बन्धित खबर