२०८१ पौष २५, बिहिवार , ०३:२३:२२ बजे

Sajhamanch
'

अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार

बुधवार, पौष २४, २०८१

झापा । अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार गरिएको छ । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसको प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मानिसको उद्धार गरिएको हो ।

अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रफलमा फैलिएको बताएका छन् । अग्नि नियन्त्रकहरूले हेलिकप्टर र दमकलको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगो फैलिएको क्षेत्रमा २५० को सङ्ख्यामा विमान र दमकल परिचालन गरिएको छ । तर सुक्खा र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझै फैलिएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र हावाले अन्त पनि डढेलो फैलिन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

यसअघि मानिसहरू सुरक्षित ठाउँमा जाने प्रयास गर्दा ठाउँठाउँमा गाडीको आवागमन प्रभावित भएको थियो । कतिपयले आफ्नो गाडी छाडेर भागेका छन् । सान्टा आना नामक शक्तिशाली हुरीले डढेलोलाई तीव्र गतिमा फैलाएको खबरमा उल्लेख छ । डढेलोको जोखिम अझै उच्च भएकाले चेतावनी जारी गरिएको छ ।

विगत केही वर्षयता अमेरिकामा डढेलोको आकार र अवधि बढेको पाइएको छ । सुक्खा मौसमका कारण क्यालिफोर्नियामा डढेलोका घटना दोहोरिरहन्छन् । सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा अहिलेसम्मकै खराब डढेलो लागेको थियो ।

सम्बन्धित खबर