२०८१ पौष २२, सोमवार , १०:३५:०५ बजे

Sajhamanch
'

दक्षिण कोरियाका राष्ट्रपति युनलाई पक्राउ गर्ने प्रयास स्थगित

शुक्रवार, पौष १९, २०८१

झापा । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न उनको घर पुगेका अनुसन्धानकर्ताहरूले आजका लागि पक्राउ प्रयास स्थगित गरेका छन् ।

युनको घरबाहिर रहेका सुरक्षा टोलीले अवरोध गरेपछि ६ घण्टासम्मको प्रयास स्थगित भएको हो । केही दिनदेखि राष्ट्रपति निवास अगाडि युनका समर्थकहरू बसेर नाराजुलुस गरिरहेका छन् ।

गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने ‘मार्शल ल’को अल्पकालीन घोषणाको कारण विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो ।

युनलाई पक्राउ गर्न राष्ट्रपति निवासमा पुगेका अनुसन्धान अधिकारीलाई राष्ट्रपतिको सुरक्षा बलले रोकेको बीबीसीले जनाएको छ । अनुसन्धानकर्ताले पक्राउ पुर्जीको म्याद जनवरी ६ भित्र युनलाई पक्राउ गर्ने प्रयास गरिरहेका छन् ।

पक्राउ गर्ने प्रयास भइरहँदा दक्षिण कोरियामा राजनीतिक सङ्कट झन्–झन् गहिरिँदै गएको खबरमा उल्लेख छ । महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्नु अनुसन्धानकर्ताहरूलाई निकै गाह्रो भइरहेको छ ।