२०८१ माघ ८, मङ्गलवार , ०१:३४:५८ बजे

Sajhamanch
'

बिर्तामोडमा सार्वजनिक शौचालय बनाउन जग्गा माग

बिहिवार, पौष १८, २०८१

झापा । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको लागि जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ ।

पूर्व बुट्टावारि चौकदेखि पश्चिममा चारपाने चौकसम्म राजमार्गको १०० मिटर दुरी भित्र सुविधायुक्त सार्वजनिक शौचालय निर्माणको लागि कम्तीमा ५ धुर जग्गा आवश्यक रहेकोले कार्यपालिका बैठकको निर्णयअनुसार सूचना सार्वजनिक गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए ।

नगरपालिकाले जारी गरेको सूचनामा निःशुल्क जग्गा उपलब्ध गराउन इच्छुक दाताले कित्ता नम्बर तथा क्षेत्रफल खुलाएर १५ दिन भित्र नगर कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईँले आवश्यक जग्गाको अभावमा सार्वजनिक शौचालय निर्माणमा कठिनाइ भएको बताइन् । उनले सुविधा सम्पन्न शौचालय निर्माणको लागि सङ्घीय सरकारबाट एक करोड रुपैयाँ बजेट उपलब्ध भएपनि जग्गा नहुँदा फ्रिज हुनसक्ने सम्भावना रहेको गुनासो गरिन।

नगर प्रमुख प्रसाईँले धनीपुर्जा भएका जग्गा बाहेक सार्वजनिक र ओइलेनी जग्गामा उक्त संरचना निर्माण गर्न नमिल्ने कानुनी जटिलता रहेको पनि बताइन् ।

नगरपालिकाले गत साउन १५ गते सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न वडा नम्बर १ का वडाअध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईँ, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल रहनु भएको थियो । जग्गा पहिचान तथा प्राप्ति गर्न नसकेको भन्दै पुस १२ गते बसेको कार्यपालिकाको बैठकमा समितिले प्रतिवेदन पेश गरेको छ ।

समितिका संयोजक तथा वडा नम्बर १का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले कार्यपालिकालाई जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन सुझाव पेश गरेको बताए ।

सम्बन्धित खबर