२०८१ पौष १२, शुक्रवार , ०४:०७:५० बजे

Sajhamanch
'

कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

बिहिवार, पौष ११, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले आजदेखि दोस्रो बजारमा कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले हिजो कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गरेर बैंक सञ्चालनको लागि समिति गठन गरेको थियो । बैंक सञ्चालनका निम्ति राष्ट्र बैंकका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन भइसकेको छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको र कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पनि पूरा नगरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको राष्ट्र बैंकको भनाइ छ । अब कम्पनीको अवस्था सुध्रिएर समस्यामुक्त भएपछि मात्रै कम्पनीको शेयर कारोबार खुल्ला हुने छ ।

सम्बन्धित खबर