२०८१ पौष १०, बुधवार , ०१:१५:०७ बजे

Sajhamanch
'

मोरङको लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ आकर्षित

बुधवार, पौष १०, २०८१

मोरङ । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर मोरङको लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् ।

लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राईले विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा दिन थालेका छन् ।

उनले अराविका जातको कफीको वार्षिक ४० हजार बिरूवा आफैं तयार गरेका छन् । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती पनि गरेका छन् ।

लेटाङ–७ का १२० परिवारले कफीको व्यावसायिक खेती गरेका वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताए। भौगोलिक हिसाबले विकट मानिने यस ठाउँमा कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको अध्यक्ष लिम्बूले बताए। वडा नम्बर १ मा पनि व्यावसायिक कफीखेती शुरू भएको छ ।

लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिकाका मेयर भुपेन्द्रकुमार लावतीको भनाइ छ ।