२०८१ पौष ८, सोमवार , १०:२८:३८ बजे

Sajhamanch
'

पाकिस्तानमा बीस लाख बालबालिकामा कुपोषण

सोमवार, पौष ८, २०८१

झापा । पाकिस्तानमा २० लाख बालबालिका कुपोषणको चपेटामा रहेका युनिसेफको एक अध्ययनले देखाएको छ । आसन्न सङ्कटबारे चेतावनी दिँदै युनिसेफले २० लाख बालबालिका गम्भीर रूपमा बर्बाद वा गम्भीर कुपोषणबाट पीडित रहेको बताएको हो ।

युनिसेफले पाकिस्तानसहित १२ देशहरूमा जीवन बचाउने अत्यावश्यक सामग्रीको लागि कोषको अभाव अर्थात आर्थिक स्रोतको अभावका कारण बालबालिकाहरू ज्यानै गुमाउने जोखिममा रहेको बताएको छ ।

यसैबीच पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानमा झण्डै ५० प्रतिशत बालबालिका कुपोषणबाट पीडित रहेको हालसालैको पोषण सर्वेक्षणले देखाएको समाचार संस्था एपीएफले जनाएको छ ।

बलुचिस्तानका सबै ३६ जिल्लाहरूमा फैलिएका झन्डै आधा सङ्ख्याका बालबालिकाहरूले गम्भीर खाद्य असुरक्षाको अनुभव गरिरहेका छन् ।

कुपोषणले बालबालिकाको वृद्धि र विकासमा बाधा पुर्‍याउने मात्र नभई तिनीहरूको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बनाउँदै विभिन्न रोगहरू लाग्ने सम्भावना बढाएको चिकित्सकहरूले चेतावनी दिएका छन् ।

उनीहरुका अनुसार यी मध्ये धेरै बालबालिकाका लागि दादुरा जस्ता रोगहरू घातक हुन सक्छन् । बलुचिस्तानले सन् २०१८ देखि पोषण आपतकालको सामना गरिरहेको छ ।