विराटनगर । प्रहरीले तासको खालमा छापा हानेर ९ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले लेटाङ नगरपालिका–५ खेरुवाका कसम सूर्य मगरको घरमा तास खेलिरहेको अवस्थामा गएराति उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी ३१ वर्षीय कसम सूर्य मगरसहित लेटाङ–५ का ५० वर्षीय कर्ण मगर, ४० वर्षीय दिलिपकुमार राई, ३७ वर्षीय दीपक विश्वकर्मा, ३१ वर्षीय डम्बर थापा, ३७ वर्षीय किरण मगर तथा लेटाङ–४ का ३१ वर्षीय सागर भुजेल, लेटाङ–३ का ३६ वर्षीय नरबहादुर गुरुङ र ३१ वर्षीय दिपेन श्रेष्ठ रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाले खेल्न प्रयोग गरेको १०९ पत्ती तथा नखोलिएको २ बुक तास खालबाट बरामद भएको छ ।
त्यस्तै, खालबाट ४८ हजार ५०० र खेल्नेहरुको साथबाट ६१ हजार ८०० गरेर १ लाख १० हजार ३०० रूपैयाँ बरामद भएको जोशीले बताए ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लेटाङको हिरासतमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।