२०८१ कार्तिक ५, सोमवार , १०:२६:५५ बजे

Sajhamanch
'

‘दिब्यदृष्टि’ ब्राण्डका पूजा सामग्रीहरुको उत्पादन र उपयोग बढ्दोक्रममा

सोमवार, कार्तिक ५, २०८१

दमक । स्थानीय क्षेत्रमा पाइने स्रोतको अधिकतम् प्रयोग गरेर र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्दै आएको झापाको कमल गाउँपालिकामा सञ्चालित दिब्यदृष्टि ब्राण्ड (डिडिभिएसी)बाट उत्पादित पूजा सामग्रीको प्रयोग बढ्दै गएको छ । दिब्यदृष्टिले आकर्षक र भारतसँग प्रतिष्पर्धी प्याकेजिङसँगै गुणस्तरीय पूजा सामग्री उत्पादन गर्दै आएको जनाइएको छ ।

मौलिक धर्म संस्कृति र संस्कारको जगेर्ना गर्ने उद्देश्यका साथ ५ वर्ष अघिदेखि सञ्चालित दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि अर्थात् दिब्यदृष्टि पूजा सामग्री उद्योगका उत्पादनहरु कोशी प्रदेशको अलावा देशभर नै माग हुन थालेको उद्योगका सञ्चालक बिष्णुप्रसाद पोखरेलले बताएका छन् ।

घर आँगनमा पाइने दुबो, कुशदेखि लिएर नवग्रह समिधामा प्रयोग हुने सामग्रीसमेत भारतमा निर्भर रहनुपर्ने अवस्थामा स्वदेशी नवग्रह समिधा, हवन सामग्री, एन्टिब्याक्टोरियल बाटेको धुप, गोमूत्र, गंगाजल, सप्तमृतिका, सप्तधान्य, सर्वोषधि, पञ्चरत्न, परिमल, हवनका लागि चाहिने दिब्य समिधा लगायतका पूजा सामग्रीहरु दिब्यदृष्टिमा उत्पादन हुँदै आएको सञ्चालक पोखरेलले जनाएका छन् ।

जौ, कालोतील, सरसिउँ लगायतका स्थानीय उत्पादनहरु पनि उपलब्ध गराउँदै आएको दिब्यदृष्टिले विभिन्न पर्वहरुमा आवश्यक पर्ने सामग्रीहरु पनि उत्पादन गर्दै आएको छ । दशैंमा जमरा बीउ, बालाचर्तुदशीमा छर्नका लागि शतविजहरु पनि उद्योगले प्याकेजिङ गर्ने गरेको छ । केही महिना भित्रमा पूजाका लागि अति आवश्यकीय सामग्रीहरु अन्य एकदर्जन भन्दाबढी उत्पादन थप गर्ने तयारी भइरहेको छ, पोखरेलले भनेका छन् ।

बाटेको धुपमा मात्र ५ वटाभन्दा बढी समूहले अर्धरोजगारी पाएका छन् भने उद्योगमा एक दर्जनले रोजगारी पाएका छन् । उद्योगका अर्का सञ्चालक बविता तिम्सिनाले कृषिमा आधारित मौलिक पूजा सामग्री उत्पादनले माया पाइरहेको बताइन् । पूजा पसलहरुले स्थानीय उत्पादन अर्थात् दिब्यदृष्टिको उत्पादनलाई स्थान दिएर बिक्री बितरण गर्दै आएको र उत्पादन क्षमता बढाउन थालिएको उनको भनाई छ ।

सबैको माया र सद्भावले दिब्यदृष्टिको उत्पादनलाई देशभर पुर्याउने योजना छ, उनले भनिन् । पूजा पसलहरुमा जाँदा दिब्यदृष्टि कै पूजा सामग्री माग्न थालिएको पाउँदा खुसी लाग्छ, उनको भनाई छ । स्थानीय उत्पादनको उपयोगले स्थानीय उद्योग प्रवर्धन हुने भएकाले यसमा सबैको सहयोग पाउनेमा विश्वास रहेको पनि उनले बताएकी छन् ।

कमल गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राईले आफ्नै पालिकामा स्थापना भएको दिब्यदृष्टि पूजा सामग्री उद्योगले स्थानीय कृषि उत्पादनलाई प्रयोग गरेर पूजा सामग्री उत्पादन गरी राम्रो बजार पाउन थालेको बताए । यसले परम्परागत संस्कृतिको जगेर्नासँगै स्थानीय उत्पादन प्रवद्र्धन गर्दै स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्तालाई आकर्षित गरेको राईले बताएका छन् ।

पछिल्लो समयमा दिब्यदृष्टिसँग मिल्दाजुल्दा पूजा सामग्री उत्पादन गरेर बजारमा दिब्यदृष्टि कै उत्पादन हुन् भनेर ठगी गर्ने काम पनि शुरु भएको छ । त्यस्तो भ्रममा नपर्न पनि उद्योगले आग्रह गरेको छ । दिब्यदृष्टिको बिल, भर्पाइ, लोगो र उत्पादन याकिन गरेरमात्र किनबेच गर्न तथा उपयोग गर्न उद्योगका सञ्चालक पोखरेलले आग्रह गरेका छन् ।

सम्बन्धित खबर