२०८१ कार्तिक ४, आइतवार , ०८:२६:४५ बजे

Sajhamanch
'

रोलिङ च्यालेन्ज कप : मानेभञ्ज्याङ अन्तिम चारमा

आइतवार, कार्तिक ४, २०८१

मेचीनगर । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ ।

आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि कठिन जित निकाल्दै दार्जिलिङको मानेभञ्ज्याङ अन्तिम चारमा प्रवेश गरेको हो ।

भारतीय टोली मानेभञ्ज्याङले राष्ट्रिय जागृतिलाई १–० गोल अन्तरले हराएको हो । खेलको २१ औँ मिनेटमा राष्ट्रिय जागृतिका कप्तान मनिन्द्र याख्खाले मानेभञ्ज्याङका खेलाडीलाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा २२ औँ मिनेटमा मानेभञ्ज्याङका कप्तान सोनाम जाङपो भुटियाले गोल गरे ।

अत्यन्त प्रतिस्पर्धात्मक तथा आक्रमक खेलमा मानेभञ्ज्याङले जित निकाल्न सफल भयो । उसका वीरेन प्रधानलाई दोहोरो पहेँलो कार्ड दिँदै राष्ट्रिय रेफ्री लक्ष्मण जैसवालले ४२औँ मिनेटमा मैदान बाहिर पठाए ।

त्यस्तै, खेलको ६१औँ मिनेटमा मानेभञ्ज्याङका गोल किप्पर सचिन सुब्बामाथि फाउल गरेपछि राष्ट्रिय जागृतिका मिलन राईले रेड कार्ड बोक्दै मैदान बाहिरिए ।

अनुहारमा चोट लागेका सुब्बालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । खेलमा सातवटा पहेँलो कार्ड देखाइएको थियो ।

खेलको प्लेयर अफ द म्याच मानेभञ्ज्याङका गोलकर्ता भुटिया भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई खेलप्रेमी प्रविन सापकोटा, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, रोलिङ क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङले नगद तथा ट्रफी प्रदान गरे ।

भोलि हुने तेस्रो क्वार्टर फाइनल खेल सुकुना युनाइटेड एफसी पश्चिम बंगाल भारत र मोरङको सम्राट स्पोर्टिङ क्लबबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर