२०८१ मंसिर १२, बुधवार , ०२:२६:३८ बजे

Sajhamanch
'

भद्रपुर रनको विजेताले पुरस्कार पाउन स्थानीय बासिन्दा भएको प्रमाण पेश गर्नुपर्ने

आइतवार, असोज १३, २०८१

भद्रपुर । भद्रपुर रनमा यसपटक भद्रपुरभन्दा बाहिरका खेलाडीले विजेता भए पनि पुरस्कार नपाउने भएका छन् ।

आयोजक समितिले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार रनमा जो सुकैले भाग लिए पाए पनि पदक तथा पुरस्कार जित्न भद्रपुर कै बासिन्दा हुनुपर्ने नीति तय गरिएको जनाएको हो ।

महिलाका लागि ६ दशमलव १ किलोमिटर र पुरूषका लागि ८ दशमलव ८ किलोमिटर दौडनु पर्ने रूट तय गरिएको छ । भद्रपुर ८ नम्वर वडा कार्यालय मूल आयोजक रहेको भद्रपुर रनमा महिला र पुरूषका लागि समान पुरस्कार राखिएको सो अवसरमा जानकारी दिइयो ।

यसपटक भद्रपुर रनमा प्रथम हुने खेलाडीले नगद ३१ हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेका लागि २१ हजार रुपैयाँ, तेस्रोले ११ हजार रुपैयाँ, चौथोले ५ हजार रुपैयाँ पाँचौं हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउने छन् । छैटौंदेखि १०औं स्थानसम्मका खेलाडीलाई सान्त्वनास्वरुप एक हजार रुपैयाँ पुरस्कार राखिएको पत्रकार सम्मेलनमा जनाइयो ।

यी पुरस्कार पाउन भद्रपुर नगरपालिकाको बासिन्दा भएको प्रमाण अनिवार्य गरिएको छ । प्रतियोगिता भएको दिन प्रथमदेखि चौथोसम्म स्थान प्राप्त गर्ने खेलाडीले डमी चेक प्राप्त गर्नेछन् भने प्रतियोगिता सम्पन्न भएको तेस्रो दिनभित्रमा भद्रपुरको बासिन्दा भएको प्रमाण पेश गरे तोकिएको नगद पुरस्कार पाउने प्रावधान रहेको आयोजकको भनाई छ ।

प्रथम पटक २०७६ सालमा भद्रपुर रनको आयोजना भएको भए पनि विभिन्न कारणले रोकिएको रन अब भने हरेक वर्ष घटस्थापना कै दिन सम्पन्न गर्ने गरी कोष खडा गरेरै अगाडि बढिएको आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले जानकारी दिए ।

संयोजक सुब्बाका अनुसार १० लाख खर्च हुने अनुमान रहेको छ भने खर्चको स्रोत विभिन्न दाताको स्वेच्छिक दानबाट प्राप्त हुनेछ । वडा कार्यालय मूल आयोजक भए पनि वडाको रकम खेलमा खर्च नगरिने जनाउँदै दुव्र्यसन मुक्त समाजका लागि भद्रपुर रन भन्ने नारा तय भएको जानकारी दिए ।

यही असोज १७ गते फूलपातीका दिन बिहान ७ बजे भद्रपुर ८ सगरमाथा चौकबाट शुरू हुने रन दक्षिण संगमचौक हुँदै पूर्व जनता चौकबाट उत्तर घोडामारा हुँदै पश्चिम कारागारबाट जिल्ला प्रशासनहुँदै मेची रङ्गशाला दक्षिण सगरमाथा चौकमा आएर समापन हुनेछ ।

सम्बन्धित खबर