बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठान दर्ता भएर कार्यान्वयनमा आएको जानकारी दिने उद्देश्यले मंगलबार झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गर्दा १०१ पिन्ट रगत संकलन भएको छ ।
झापाका अस्पतालहरुमा रगतको अभाव भइरहेको सार्वजनिक जानकारीमा रहेको बेला प्रतिष्ठानले परिचयात्मक कार्यक्रमस्वरुप रक्तदानआयोजना गरेको हो ।
बिर्तामोडका सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईको योगदानलाई चिरस्थायी बनाउँदै सामाजिक कार्य गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठान दर्ता हुनुअघि पनि अन्धुवा खोला करिडोरमा वृक्षारोपण गरिएको थियो ।
प्रतिष्ठानले सामाजिक कार्यक्रम अन्तर्गत रक्तदान गरेको अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताए । ‘प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ’, अध्यक्ष भट्टराईले भने, ‘ हामी सबै रक्तदाता प्रति आभार व्यक्त गर्दछौँ ।’
बिर्तामोड नगरपालिकाका प्रमुख एवम् प्रतिष्ठानका प्रमुख संरक्षक पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीसहित १०१ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले प्रतिष्ठानमार्फत विभिन्न सेवामूलक सामाजिक अभियानहरू सञ्चालन गरिने बताउँदै सदस्य विस्तार अभियानलाई तीव्र बनाइने बताइन् ।
प्रतिष्ठानका सचिव सुब्रत न्यौपानेका अनुसार इच्छुक सबै महानुभावलाई प्रतिष्ठानले सदस्यता दिइरहेको छ । यसअघि बसेको प्रतिष्ठानको बैठकले इच्छुकहरुलाई सदस्यता दिने निर्णय गरेको थियो ।
रक्तदान कार्यक्रम अघि आयोजित विशेष कार्यक्रममा नेकपा एमाले लेखा आयोग सदस्य जसमाया गजमेर र एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य ज्ञानेन्द्रप्रकाश ओलीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागीलाई प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शाब्दिक स्वागत गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठानका सहसचिव टीकाराम प्रसाईले बताए ।