काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्ष तोकेर सोमबार अध्यक्ष पोखरेलले राजीनामा दिएका हुन् ।
पत्रकार महासंघले आगामी असोज ५ गतेका लागि नयाँ निर्वाचन मिति तोकेको छ । निर्वाचन मिति नजिकिँदै गर्दा अध्यक्षले नै राजीनामा दिएपछि असोज ५ मा पनि महासंघको निर्वाचन हुने नहुने अन्योल सिर्जना भएको छ ।
यसअघि गएको जेठ २६ गतेका लागि निर्वाचन हुन नसकेपछि पुनः असार २२ गतेका लागि निर्वाचन मिति निर्धारण भएको थियो । तर मतदाता नामावलीमा देखिएको विवाद समाधान नहुँदा निर्वाचन हुन सकेको थिएन ।
आगामी असोज ५ गतेका लागि नयाँ निर्वाचन मिति तय भएपनि हालसम्म नयाँ मतदाता नामावली र कार्यतालिका सार्वजनिक हुन सकेको छैन ।
अध्यक्ष पोखरेलले विज्ञप्ति जारी गर्दै तोकिएको मितिमा निर्वाचन गराउन नसक्नु आफ्नो नैतिक कमजोरी भएको स्वीकार गरेका छन् ।
महासंघको नयाँ सदस्यतालाई लिएर विभिन्न राजनीतिक दल निकटका पत्रकार संघ–संगठनका नेताहरुबीच विवाद हँदै आएको छ । गत चैतमै नै नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको कार्यकाल सकिएको हो ।