२०८१ कार्तिक ३०, शुक्रवार , ०७:४५:२२ बजे

Sajhamanch
'

संजिवनी साकोसको सदस्य शिक्षा कार्यक्रम

मङ्गलवार, भदौ ११, २०८१

बिर्तामोड । पेन्सन बचत कार्यक्रमलाई आफ्नो ‘ड्रिम प्रोडक्ट’ बनाएको झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई इलामको कन्याम पुर्याएर सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

सहकारी शिक्षा ग्रहण गर्नका लागि समय दिन इच्छुक १५० भन्दा बढी सेयर सदस्यहरुलाई कन्याम पुर्याएर संस्थाको गत आर्थिक वर्षको वित्तीय अवस्थासहित पेन्सन बचत कार्यक्रमको विषयमा प्रकाश पारिएको हो ।

संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा सञ्चालित सदस्य शिक्षा तालिम कार्यक्रममा उनले अध्यक्षीय मन्तब्य राख्दै जिल्लाका सहकारी संस्थामध्ये प्रशासनिक खर्च कम गरेर आफ्ना सदस्यहरुको हितमा लगानी गर्ने संजिवनी एकमात्र रहेको दावी गरेका थिए ।

संजिवनी साकोसका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गरेको सो सदस्य शिक्षा कार्यक्रममा उपस्थित सदस्यहरुलाई शाब्दिक स्वागत गर्दै उपाध्यक्ष दिनेशकुमार सुवेदीले तालिमको सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा संस्थाको वित्तीय अवस्था, पेन्सन सदस्यको लागि बनाइएको नियमहरु, सदस्यहरुले प्राप्त गर्ने सुविधाहरु र गत आर्थिक वर्षमा सुविधा प्राप्त गरेका सदस्यहरुको विवरण उपाध्यक्ष सुवेदीले प्रस्तुत गरेका थिए ।

सहकारी संस्थाका सेयर सदस्यहरुलाई समग्र अवस्थिति जानकारी गराएर संस्थाप्रति अपनत्व सिर्जना गर्नु र सहकारीका मूल मर्महरुबारे प्रष्ट पार्नु सदस्य शिक्षा कार्यक्रमको उद्देश्य हुने उपाध्यक्ष सुवेदीको भनाई थियो ।

उपाध्यक्ष सुवेदीको प्रस्तुतिपछि सहभागी सदस्यहरुले संजिवनीको प्रवद्र्धनका लागि दर्जनौं जिज्ञासा तथा केही सुझावहरु प्रस्तुत गरेका थिए ।
उक्त जिज्ञासाहरुलाई अध्यक्ष चुडालले प्रष्ट्याउँदै जुनसुकै वित्तीय संस्थाका प्रमुख अधिकारप्राप्त मानिसहरु जिम्मेवार भए भने सिंगो संस्था र कर्मचारीहरु सही मार्गमा हिंड्ने दोहोर्याएका थिए ।

गतवर्ष भदौ ११ गते कन्याममा नै भएको सदस्य सहकारी शिक्षा कार्यक्रम तथा अवलोकन भ्रमण र धनकुटाको नमस्ते झरनासम्मको मनोरञ्जन भ्रमणको खर्च लाखौं भयो कि भन्ने सदस्यको जिज्ञासा शान्त पार्दै उनले खर्च शीर्षक यातायात र खानाको मात्र रहेको प्रष्ट्याएका थिए ।

संस्थाको आकर्षण पेन्सन बचत कार्यक्रममा रहेकाले चालू आर्थिक वर्षमा कम्तीमा १०० जना थप गर्ने लक्ष्य रहेको सुनाउँदै अध्यक्ष चुडालले सो सम्बन्धी विस्तृत जानकारी गराएका थिए ।

सोही अवसरमा संस्थाको १७औं वार्षिक साधारणसभा आगामी असोज १२ गते बिर्तामोडमा सम्पन्न गर्ने कार्यतालिका बनाइएको अध्यक्ष चुडालले जानकारी दिए ।

सम्बन्धित खबर