झापा । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि दबाब दिन इजरायल भ्रमणमा पुगेका छन् ।
गएको वर्षको अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व शुरू भएपछि ब्लिन्केन नवौं पटक इजरायल गएका हुन । ब्लिन्केनको भ्रमणको केही दिनअघि अमेरिकाले इजरायल र हमासबीच शान्ति स्थापना गर्न संशोधित प्रस्ताव पेश गरेको थियो ।
गएको हप्ता कतारको दोहामा भएको वार्तामा अमेरिकाले युद्धविराम सम्झौता हुने आशा व्यक्त गरेको थियो । तर हमासले युद्धविराम सम्झौतालाई एउटा जालसाजी भनेको छ । हमासले इजरायली सेनालाई गाजा पट्टी पूर्णरूपमा त्याग्न माग गरिरहेको छ ।
अमेरिकाले आउँदो हप्ताभित्र इजरायल र हमासबीच शान्ति सम्झौता गर्ने अपेक्षा गरेको छ । तर इजरायल र हमास दुवैले कुनै सकारात्मक प्रतिक्रिया दिएका छैनन् । दुवै पक्षले एकअर्कालाई शान्ति सम्झौतामा बाधा पुर्याएको आरोप लगाइरहेका छन् ।
हिजो एक विज्ञप्तिमा हमासले इजरायली प्रधानमन्त्रीमाथि युद्ध लम्ब्याउने सम्झौताका लागि नयाँ शर्त र मागहरू राखेको आरोप लगाएको थियो ।