झापा । विश्वकप क्रिकेट लिग दुईमा अमेरिकाले विजयी सुरुवात गरेको छ । लिग दुईमा आफ्नो पहिलो खेलमा अमेरिकाले क्यानडालाई १४ रनले हरायो । आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीच श्रृङ्खला चलिरहेको छ ।
हिजो भएको खेलमा अमेरिकाले दिएको ३०५ रनको लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९० रन बनायो । क्यानडाका हर्ष ठाकरले सर्वाधिक ७७ रन बनाए । अमेरिकाका नोस्तुश केन्जिगेले ३, शाल्डि भान साक्वय र जसदीप सिंहले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएको थियो । उसका कप्तान मोनांक पटेलले अविजित १२१ रनको शतकीय पारी खेले । स्मिथ पटेलले ६३ र शयान जाहान्गिरले ५७ रन जोडे ।
जितसँगै ८ टोेली सहभागी लिग दुईमा २ अङ्कका साथ अमेरिका छैटौँ स्थानमा छ । क्यानडा ६ खेलमा ८ अङ्कका साथ दोस्रो स्थानमा छ । ७ खेलमा ९ अङ्क रहेको स्कटल्यान्ड शीर्ष स्थानमा छ । लिग दुईमा नेपाल २ अङ्कका साथ सातौँ स्थानमा छ ।