२०८१ मंसिर १२, बुधवार , ०३:०८:५३ बजे

Sajhamanch
'

मेची बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक, ३०औँ साधारण सभा सुरु

सोमवार, साउन २८, २०८१

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनमार्फत आफ्नो ३०औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै साधारण सभाको सुरुवात गरेको छ ।

हरेक वर्ष झैं आज साउन २८ गते संस्थाको मुख्य कार्यालय दमकमा पत्रकार अन्तरक्रिया आयोजना गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाले आफ्नो स्थापना दिवस भदौ १२ गतेका दिन माइन्युट प्रमाणित साधारणसभा एवम् वार्षिकोत्सव मनाउँदै आएको छ ।

संस्थाका सञ्चालक एवम् विभागीय प्रतिनिधिहरुको उपस्थितिमा पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरिएको हो । सो अवसरमा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले चालू वर्षका लागि तय गरिएका नीति तथा कार्यक्रम र प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष भट्टराईले नीति कार्यक्रम प्रस्तुत गर्दै सहकारीहरुको क्षेत्रमा वितेको वर्ष सुखद् नभएको बताए । उनले संस्था र सदस्यहरुकै लागि असहज परिस्थितिहरु आएको जानकारी गराए ।

‘तर मेची सहकारीका सञ्चालक, सदस्य र कर्मचारीहरुले अन्य सहकारीमा जस्तो जटिल समस्याहरु भोग्नु परेन’ अध्यक्ष भट्टराईले थपे, ‘मेची बहुउद्देश्यीय सहकारीबाट सञ्चालक र कर्मचारीहरुले ठूलो रकमको कर्जा नलिएका कारण समस्यामा नपरेको हो ।’

अध्यक्ष भट्टराईले भने, ‘सहकारीहरुको नाममा मेची पृथक छ, हामीले अचल सम्पत्तिमा लगानी गरेनौं । जग्गा कारोबारमा लगानी गरेका छैनौं । संस्थाले बिना धितो ठूलो लगानी गरेन । जोखिमपूर्ण कर्जा लगानी नगरेका कारण मेची ठीक ढंगले अघि बढिरहेको हो ।’

नयाँ कार्यक्रमहरुबारे जानकारी दिँदै अध्यक्ष भट्टराईले भनेका छन्– संस्थाले खानेपानी उद्योग सञ्चालनदेखि मेची आवास २ निर्माण योजनालाई अघि बढाउने, चक्लाबन्दी मार्फत् फलफूल खेती गर्ने संस्थाको योजना छ ।

गत असार मसान्तमा १६ हजार ३४८ जना सदस्य रहेको मेची सहकारीले यो वर्ष सदस्यहरुलाई १० दशमलव ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । झापा, इलाम र मोरङ जिल्लामा १२ वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गर्दै आए संस्थाले आफ्ना कर्मचारीहरुको तलवमानमा १० प्रतिशत वृद्धि गर्ने साधारणसभामा प्रस्ताव पेश गरेको छ ।

सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बगालेले गत असार मसान्तमा संस्थाको शेयरपुँजी ३७ करोड १८ लाख ९० हजार ४०० रुपैयाँ पुर्याइएको, संस्थाको मेरुदण्ड मानिने विभिन्न कोषहरुमा ३४ करोड ८४ लाख ८५ हजार ७५९ रुपैयाँ बनाइएको, ३ अर्ब ६ करोड ७१ लाख ३१ हजार ४३० रुपैयाँ बचत संकलन गरी ४ हजार ४२ जना ऋणी सदस्यहरुलाई ३ अर्ब २९ करोड ७३ लाख ९८ हजार १९५ रुपैयाँ कर्जा लगानी गरिएको बताए ।

प्रमुख कार्यकारी अधिकृत बगालेले मेची सहकारीमा १४ शीर्षकमा बचत संकलन, १२ शीर्षकमा कर्जा लगानी एवम् रेमिट्यान्सको कारोबार गर्ने गरिएको जानकारी दिए ।

यो वर्ष संस्थाले ३० हजार रुपैयाँ राशीको गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार नेफ्स्कुनका पूर्वअध्यक्ष ऋषिराज घिमिरेलाई प्रदान गर्ने निर्णय भएको सिइओ बगालले अवगत गराए । यस्तै १० हजार रुपैयाँ राशीको गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार साझामञ्च डटकमका प्रधानसम्पादक गोपाल काफ्लेलाई र ८ हजार रुपैयाँ राशीको मेची सहकारी पत्रकारिता पुरस्कार हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारीलाई प्रदान गर्ने निर्णय भएको उनले बताए ।

संस्थाको प्रकाशन विभाग प्रमुख नरपति पाण्डेको अध्यक्षतामा, संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित पत्रकार तथा अतिथिहरुलाई वरिष्ठ उपाध्यक्ष पदम थापाले शाब्दिक स्वागत गरेका थिए ।

प्रतिवेदन सार्वजनिक लगत्तै पछि आजै दमक सेवा कार्यालय अन्तरगतका आधा सदस्यहरुबीच एकाईगत साधारणसभा सुरु गरिएको छ । इकाइगत तथा सेवा कार्यालयगत साधारणसभाका शिलशिला अनुसार साउन २९ गते दमक सेवा कार्यालयका आधा सदस्यहरुमाझ, उर्लाबारी सेवा कार्यालय र ३० गते मिक्लाजुङ सेवा कार्यालयका सबै सदस्यहरुमाझ कार्यक्रम हुनेछन् । सो क्रम भदौ ३ गतेसम्म चल्नेछ ।

सम्बन्धित खबर