
भैरहवा । बर्सौंदेखि पहिरो र चट्टान खस्ने जोखिमका कारण त्रासको यात्रा बन्ने गरेको सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र अब सुरक्षित यात्रातर्फ अघि बढिरहेको छ ।
निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाले भौतिकतर्फ ६८ प्रतिशत प्रगति हासिल गर्दै आगामी सेप्टेम्बरसम्म सुरुङमार्गबाट सवारी सञ्चालन गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ ।
सिद्धार्थ राजमार्गमा निर्माणाधीण सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो । आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार हालसम्म वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँचबर्से निर्माण अवधि तय गरिएको आयोजनामा इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमार्फत काम भइरहेको छ । जस अन्तर्गत डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीलाई दिइएको छ ।
पौडेलका अनुसार आगामी सेप्टेम्बर अर्थात् असोजदेखि सुरुङमार्ग भएर सवारी सञ्चालन गर्ने तयारी छ । सुरुङ सञ्चालनमा आएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी वहन गर्ने छ । त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) लागु हुने छ ।
सिद्धबाबा क्षेत्रमा हरेक वर्ष बर्खायाममा पहिरो खस्ने, सडक अवरुद्ध हुने र मानवीय क्षति हुने समस्या दोहोरिँदै आएको छ । यही जोखिम न्यूनीकरणलाई केन्द्रमा राखेर सुरुङमार्ग निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यो परियोजनाको मुख्य उद्देश्य दुरी छोट्याउनुभन्दा पनि यात्रुलाई सुरक्षित विकल्प उपलब्ध गराउनु हो ।
आयोजनाको प्रारम्भिक चरणमा भने कानुनी र प्राविधिक जटिलताले काम प्रभावित भएको थियो । नेपालमा पहिलो पटक प्रयोग गरिएको इपिसी मोडलका कारण डकुमेन्टेसनमा समस्या देखिएको थियो भने रुख कटान अनुमति, बजेट व्यवस्थापनलगायतका काममा ढिलाइ हुँदा निर्माणले अपेक्षित गति लिन सकेको थिएन । अहिले ती अधिकांश समस्या समाधानउन्मुख रहेको आयोजनाले जनाएको छ ।
सुरुङसँगै सडक निर्माणको काम पनि अघि बढाइएको छ । सुरुङ सञ्चालनपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा सुरक्षित संरचना र भिर संरक्षणका काम गरिने छन् । पैदलयात्रुका लागि सुरक्षित संरचनाभित्र बाटो पनि बनाइने र बाहिरी भागमा खानेपानी व्यवस्थापनसमेत गरिने योजना छ ।
सुरुवाती अनुमान अनुसार करिब १० अर्ब रुपियाँ लागत लाग्ने भनिएको आयोजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब सात अर्ब रुपियाँमा सम्झौता गरिएको थियो । आयोजना सम्पन्न भएपछि बुटवल–पाल्पा सडकखण्डको यात्रा अझ सुरक्षित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।


