२०८३ जेठ ११ सोमवार , ०५:०५:४७ बजे

Sajhamanch
'

शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

सोमवार, जेठ ११, २०८३

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८५ अङ्कले बढेर २ हजार ७८६ दशमलव ३५ विन्दुमा पुगेको छ । ।

नेप्से झन्डै १ महिनायताकै उच्च विन्दुमा पुगेको हो । गएको वैशाख १४ गते नेप्से २ हजार ७९६ विन्दुमा पुगेको थियो ।

आज म्युचल फन्ड बाहेक सबै समूहका सूचक बढेकामा जलविद्युत् समूहको सूचक डेढ प्रतिशतले उकालो लागेको छ । आज २३५ वटा कम्पनीको शेयर बढेकामा २८ वटाका घटेका छन् । यस्तै ७ वटा कम्पनीको शेयर भने घटबढ भएका छैनन् ।

आज थ्री स्टार हाइड्रोपावरको शेयर ९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुङ्गल हाइड्रोपावरको शेयर १० दशमलव ३२ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३४२ वटा कम्पनीका १ करोड ४५ लाख कित्ता शेयर ५ अर्ब ९८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै १ महिनाकै धेरै हो । यसअघि वैशाख १५ गते ६ अर्ब ५३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।