काठमाडौं । एफए कम्युनिटी शिल्डको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । वेम्बली रङ्गशालामा गएराति भएको खेलमा सिटीले म्यान्चेस्टर युनाइटेडलाई सडन डेथमा ७–६ गोलले हरायो ।
इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधि विजेता टोलीबीच कम्युनिटी शिल्डको उपधिका लागि प्रतिस्पर्धा हुने गर्छ । सिटी प्रिमियर लिग च्याम्पियन र युनाइटेड एफए कप च्याम्पियन टोली हो । खेलमा निर्धारित समय एक–एक गोलको बराबरी भएको थियो ।
८२औं मिनेटमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । तर युनाइटेडले यो अग्रता जोगाउन सकेन । ८९औँ मिनेटमा सिटीका बर्नाल्डो सिल्भाले गोल गरे ।
बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा दुबै टोलीबाट ४–४ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो, जसमा सिटी विजयी भयो ।