काठमाडौं । पाकिस्तानले ओलम्पिक इतिहासमै व्यक्तिगत विधातर्फ पहिलो स्वर्ण पदक जितेको छ । पेरिस ओलम्पिकमा पाकिस्तानका अरशद नदीमले नयाँ ओलम्पिक कीर्तिमानसहित ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका हुन् ।
गएराति सम्पन्न खेलमा भारतका साविक स्वर्ण विजेता निरज चोपडालाई पछि पार्दै नदिमले स्वर्ण जितेसँगै ४० वर्षपछि पाकिस्तानमा स्वर्ण पदकको खडेरी पनि तोडिएको छ । यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो ।
नदीम ट्र्याक एन्ड फिल्डमा स्वर्ण जित्ने दोस्रो दक्षिण एशियाली खेलाडीसमेत बनेका छन् । प्रतियोगिताको समग्र पदक तालिकामा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित शीर्ष स्थानमा छ । चीन २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित दोस्रोमा छ । यस्तै तेस्रो स्थानमा रहेको अस्ट्रेलियाको १८ स्वर्ण, १४ रजत र १३ कास्य रहेको छ ।