झापा । भारतीय कुस्ती खेलाडी विनेश फोगाटले सन्न्यासको घोषणा गरेकी छिन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत कुस्तीको फाइनलमा अयोग्य घोषित भएकी उनले सन्न्यासको घोषणा गरेकी हुन् ।
विनेशले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर १०० ग्राम बढी तौलका कारण उनी स्वर्ण पदकका लागि अयोग्य घोषित भएकी थिइन् ।
सन्न्यासको घोषणा गर्दै उनले सामाजिक सञ्जाल एक्समा लखेकी छन्, ‘आमा रेस्लिङले मलाई जित्यो, म हारेँ । मलाई क्षमा गर्नुहोस्, तपाईंको सपना र मेरो साहस चकनाचूर भयो । मसँग अब कुनै शक्ति छैन । गुडबाई रेस्लिङ ।’
विनेशले सेमिफाइनलमा विपक्षीलाई ५–० को अन्तरले पराजित गर्दै ओलम्पिकको फाइनलमा स्थान बनाउने पहिलो भारतीय महिला कुस्ती खेलाडी बनेकी थिइन् ।
विनेश इतिहासकै सबैभन्दा सफल भारतीय कुस्ती खेलाडी हुन् । विनेशले सन् २०१६ मा रियो ओलम्पिकमा महिला ४८ केजी फ्री–स्टाइलमा डेब्यु गरेकी थिइन् । तर घुँडाको गम्भीर चोटका कारण उनी क्वार्टरफाइनलबाट पछि हट्न बाध्य भइन् । त्यसपछि विनेश टोकियो ओलम्पिक २०२० का लागि छनोट भइन् तर क्वार्टरफाइनलमा हार बेहोर्नुपरेको थियो ।