२०८१ मंसिर १०, सोमवार , ०८:१२:०१ बजे

Sajhamanch
'

एक वर्षमा झापामा ८२७ हेक्टरमा सिँचाइ सुविधा विस्तार

शुक्रवार, साउन १८, २०८१

झापा । झापामा ८२७ हेक्टर सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १३० हेक्टरमा सुविधा विस्तार तथा ६९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शैलेश पोखरेलका अनुसार साना–ठूला गरी १३२ आयोजना सम्पन्न भएसँगै सिँचाइ सुविधा विस्तार भएको हो । “गत आवमा कार्यालयको पुँजीगतर्फ विनियोजित रकम रु. ३१ करोड ८९ लाख ४८ हजारमध्ये रु. २९ करोड ८ लाख ३८ हजार ४७४ खर्च भएको छ ।

चालुतर्फ पनि विनियोजित बजेटको ९२ दशमलव ७ प्रतिशत खर्च भयो । गत वर्ष कोशी प्रदेश सरकार सञ्चालनमा विवाद हुँदा बजेट ढिलागरी प्राप्त भएकाले आयोजना सञ्चालनमा ढिलाइ भएको प्रमुख पोखरेलले बताए ।

यसैगरी उक्त कार्यालयले नदी व्यवस्थापनतर्फ ७ हजार १०९ मिटर सम्पन्न गरी १ हजार ६८४ हेक्टर जमिन संरक्षण र ६० हेक्टर जमिन उकास गरेको छ । यी योजना सम्पन्न भएसँगै २ हजार ६०४ परिवार लाभान्वित भएका डिभिजन प्रमुख पोखरेलले बताए ।

बहुवर्षीय योजनाहरू मेचीनगर–८ मा सञ्चालित निन्दाखोला सिँचाइ योजना, मेचीनगर–७ मा पालिया पूर्व सिँचाइ योजना र गौरीगञ्जमा सञ्चलित तल्लो किस्ने सिँचाइ योजना अन्तिम चरणमा रहेका उक्त कार्यालयले जनाएको छ । यी योजना सम्पन्न भएसँगै २ हजार १०५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने छ ।

शुक्रवार, साउन १८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर